
गृह मन्त्रालयले काठमाडौं, मोरङ, सुनसरीसहित आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवाको गृहकार्य शुरू गरेको छ ।
सहसचिव जितेन्द्र बस्नेतले काठमाडौंको सीडीओका रूपमा जिम्मेवारी सम्हालेको १३ महिना भएको छ । सोही कारण धेरै सहसचिवले काठमाडौंको सीडीओ बन्न दौडधूप थालेका छन् ।
सह–सचिवहरू क्रमशः जयनारायण आचार्य, प्रेमप्रसाद भट्टराई र रामचन्द्र तिवारी काठमाडौंको सीडीओ बन्नका लागि शक्तिकेन्द्र धाइरहेको चर्चा छ ।
आचार्य अहिले कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् । त्यस्तै, भट्टराई मोरङ र तिवारी सुनसरीको प्रमुख जिल्ला अधिकारी छन् ।
सिनियर सहसचिव भएकाले आचार्यलाई काठमाडौंको सीडीओ बनाउन गृहमन्त्री रमेश लेखकलाई चर्को दबाब छ ।
तर, भट्टराई र तिवारीले समेत आफूलाई जसरी पनि काठमाडौंको सीडीओ बनाउन भनेर कांग्रेस र एमालेका नेताहरूमार्फत दबाब दिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
गृहमन्त्री लेखकले काठमाडौं मात्रै नभएर, ललितपुर, भक्तपुर, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, कैलाली, झापा, मोरङ, सुनसरी, बारा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवाका सीडीओ हेरफेर गर्ने तयारी थालेको ती अधिकारीले बताए ।
‘सीडीओमा गएका केही सहसचिवहरूको एक वर्ष कटिसकेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘गृहमन्त्रीज्यूले ७ देखि ९ महिना कटेका सीडीओलाई सरुवा गरेर नयाँ पठाउने गृहकार्य थाल्नुभएको छ ।’
सहसचिव बन्धुप्रसाद बास्तोलाले २०८० पुस ४ बाट झापाको सीडीओका रूपमा कार्यभार सम्हालेका थिए । उनको कार्यकाल सात महिना बितेको छ ।
त्यस्तै, अर्का सहसचिव तुलसीबहादुर श्रेष्ठ पनि ललितपुरको सीडीओ बनेको ७ महिना नाघेको छ । उनले २०८० पुस २३ मा ललितपुरको सीडीओका रूपमा कार्यभार सम्हालेका थिए ।
भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठको कार्यकाल ११ महिना कटिसकेको छ । उनी २०८० असोज ४ मा भक्तपुरमा हाजिर भएकी थिइन् ।
सहसचिव दिनेश सागर भुसालले पर्साको सीडीओ पद सम्हालेको पनि ८ महिना नाघिसकेको छ । उनी २०८० पुस ८ मा पर्सामा हाजिर भएका थिए ।
कपिलवस्तुका सीडीओ विश्वप्रकाश अर्याल, दाङका सीडीओ रामबन्धु सुवेदी, कैलालीका सीडीओ धर्मेन्द्रकुमार मिश्र र बाराका सीडीओ शशिधर घिमिरेको ७ महिना नाघेको छ ।
यसैगरी, रूपन्देहीका सीडीओ गणेश अर्यालको ११ महिना नाघेको छ । उनले २०८० भदौ ३१ मा कार्यभार सम्हालेका थिए । धनकुटाका सीडीओ पुण्यविक्रम पौडेलको पनि एक वर्ष अवधि पुग्न लागेको छ । उनले २०८० भदौ २० गते कार्यभार सम्हालेका थिए ।
त्यसो त सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकबाट तीनवटा जिल्लाका सीडीओ सरुवा गरिसकेको छ ।
सिन्धुपाल्चोकका सीडीओ भूपेन्द्र थापा, अर्घाखाँचीका सीडीओ सूर्यकुमार खत्री र सिन्धुलीका सीडीओ भरत खनालको सरुवा भएको हो । यी जिल्लामा पनि सीडीओ पठाउने तयारी गृहको छ ।
त्यस्तै, मन्त्रीपरिषद्ले सहसचिवहरू क्रमशः टोकराज पाण्डे, ऋषिराम तिवारी, कृष्णप्रसाद लम्साल र रमेश ढकाललाई गृहमा तानेको थियो । तीनैजना सीडीओ बन्न इच्छुक देखिन्छन् ।
सीडीओमा जान इच्छुक सह–सचिवहरूले गृहमन्त्री रमेश लेखक र गृहसचिव एकनारायण अर्याललाई भेटेर आफूअनुकूल सरुवा गरिदिन आग्रह गर्दै आएका छन् ।
गृहसचिव अर्यालले सीडीओ सरुवा नियमित प्रक्रिया भएको बताए ।
उनले लोकान्तरसँग भने, ‘कार्यक्षमता र कार्यकुशलताको मूल्यांकन गरेर सीडीओ पठाइन्छ, यसमा कसैले दौडधूप गर्नु आवश्यक छैन । केही ठाउँमा पठाउनुपर्ने छ, हामी तयारी गर्दैछौं ।’
सीडीओ पठाउँदा दलका केन्द्रीय नेतादेखि स्थानीय नेतासम्मको ‘इन्ट्रेस्ट’ हुने भएकाले काठमाडौं, झापा, मोरङ, सुनसरी, पर्सालगायत धेरै आकर्षण हुने 'सुपर जिल्ला'मा कसलाई पठाउने भन्नेमा गृहमन्त्रीमाथि तीव्र दबाब रहेको उनका निकटस्थहरू बताउँछन् ।
यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले गोरखाका सीडीओको सरुवा गर्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिदिएका थिए । यसले पनि सीडीओ सरुवामा कति चासो हुन्छ भन्ने पुष्टि गर्छ ।