०३ साउन २०८३, आइतबार
भैरहवा र पोखरा विमानस्थल चलाउने प्रयास

भैरहवामा ३ र पोखरामा १ विदेशी वायु सेवा कम्पनीले उडानका लागि दिए चासो

भदौ ६, २०८१
काठमाडौं
भैरहवामा ३ र पोखरामा १ विदेशी वायु सेवा कम्पनीले उडानका लागि दिए चासो

उद्घाटनको २ वर्ष बित्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भैरहवा र अन्तर्राष्ट्रिय उडान नै नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई क्षमताअनुसार सञ्चालनका लागि सरकार र नागरिक उड्डयन प्राधिकरणले पहल थालेका छन् ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकार र प्राधिकरणले पहलकदमी थालेका हुन् ।

दुवै विमानस्थल पूर्ण क्षमतामा चलाउन कार्ययोजनासहित प्रक्रिया अघि बढेको उच्च प्राधिकरणका एक अधिकारीले दाबी गरे ।

सरकारले वायुसेवा कम्पनीलाई लक्षित गरी आकर्षक सुविधाका प्याकेज ल्याउने तयारी सरकारले गरेको छ । गत साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो ।

बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो ।

'क्यान र सरकारले हरसम्भव प्रयास गरिरहेका छन्,' नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले लोकान्तरसँग भने, 'विभिन्न एयरलाइन्सले सोधपुछ गर्न थालेका छन् र प्रक्रियामा आउन थालेका छन् । जजिराले ११ बुँदे माग तेर्स्याएको छ । उसले गत वर्षको अप्रिलदेखि भैरहवा एयरपोर्टमा उडान बन्द गरेको थियो । छुट दियो भने आउँछु भनेको छ ।'

कुवेतको जजिरा, अबुधाबीको विज र थाई एयर एसियाले भैरहवामा चासो देखाएको क्यानको भनाइ छ । प्रवक्ता पाण्डेले भने, 'एयरपोर्टमै आफ्नो काउन्टर राख्न दिनुपर्ने र अन्य धेरै सहुलियत दिनुपर्ने उनीहरूको माग छ ।'

null

केही साताअघि थाई एयर एसियाले पनि भैरहवा उडान गर्न विन्टर सेड्युल पठाएको छ । क्यान त्यसलाई स्वीकृति दिने प्रक्रियामा रहेको छ ।

पोखरा विमानस्थलमा बंगलादेशको एयर अश्त्रले चासो देखाएको त्यहाँकी प्रबन्ध निर्देशक नविना मानन्धरले लोकान्तरलाई बताइन् ।

'एयर अस्त्रले पठाएको प्रस्ताव मन्त्रालयमा छ,' मानन्धरले लोकान्तरलाई भनिन्, 'मन्त्रालयबाट क्यानमा आइसकेको छैन । आएपछि हामीले त्यसलाई स्वीकृति दिन्छौं ।'

अहिले पूर्ण सञ्चालन क्षमतामा नचलेर घाटामा गएका दुवै विमानस्थलमा भारत र चीनका कम्पनीहरूले भने उडान भर्न खासै चासो दिएका छैनन् ।

कुराकानीका क्रममा भारतका कम्पनीहरूले आफ्नै देशमा भ्याइनभ्याइ भएको जवाफ दिने गरेको क्यानका अधिकारीहरू बताउँछन् ।

प्रवक्ता पाण्डेले भने, 'भारतका एयरलाइन्सहरू आफ्नै देशमा बिजनेस विस्तार गर्न व्यस्त छन् । उनीहरूसँग कुरा गर्दा हामीलाई यतै भ्याइनभ्याइ छ भन्छन् । तर, हामीले उनीहरू आइदिए हुन्थ्यो भनेर कुराकानी गर्न भने छोडेका छैनौं ।'

क्यानले एयर इन्डिगोलाई देहरादूनबाट भए पनि भैरहवा उडान गर्न आग्रह गरेको छ । इन्डिगोले केही चासो देखाएको भएपनि प्रक्रियामा नआएको क्यान स्रोतको भनाइ छ ।

चिनियाँ वायुसेवा कम्पनीलाई पनि क्यानले पोखरा र भैरहवा उडान गर्न पटक-पटक आग्रह गर्दै आएको छ ।

काठमाडौंमै उडान गरिरहेका कम्पनीलाई पोखरा र भैरहवामा साताको २/३ वटा भएपनि उडान गर्न क्यानले आग्रह गर्दै आएको छ । तर, अधिकांशले खासै चासो दिएका छैनन् ।

नेपालकै वायुसेवा कम्पनीमध्ये हिमालयन एयरले यसअघि भैरहवादेखि मलेसिया ६८ उडान गरेको थियो । सबै उडानमा गरी त्यहाँबाट मलेसिया जाने ४५०० थिए, तर आउने जम्मा ६४ जना छन् । व्यावसायिक घाटा भयो भनेर हिमालयनले पनि त्यहाँबाट उडान गर्न बन्द गरेको थियो ।

अहिले कतिपय मन्त्रालयहरूले पोखरा र भैरहवा दुवै विमानस्थल सञ्चालनमा सहयोग पुग्ने गरी विभिन्न  कार्ययोजना तयार गरेका छन् । क्यानका प्रवक्ता पाण्डे भन्छन्, 'श्रम मन्त्रालयले दुवै एयरपोर्टमा श्रम कार्यालय स्थापना गर्ने कुरा गरेको छ । अर्थले भन्सार कार्यालय पहिल्यै स्थापना गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको पनि युनिट त्यहाँ छ । हामीले ल्यान्डिङ, पार्किङ, न्याभिगेसन र फ्यूलमा पनि छुट दिन विभिन्न निकायसँग समन्वय गरिरहेका छौं ।'

भारतले एयर रुट नदिएकाले पोखरा र भैरहवा उडान गर्न जहाजहरू तयार नभएको भन्ने हल्ला झुटो रहेको क्यानको भनाइ छ ।

प्रवक्ता पाण्डेले भने, 'भारतसँग कुरा भइरहेको भनिएको एयर रुट रणनीतिक मात्र हो । व्यावसायिक रूपमा त्यसले कुनै फाइदा वा घाटा हुँदैन ।'

नेपालबाट जहाज बाहिर जाँदा महेन्द्रनगर हुँदै जाने भएकाले फर्किँदा पनि त्यही रुटको अनुमति दिन भारतसँग धेरै चरणमा कुराकानी भएको छ । तर, त्यो रुटले ट्राफिक व्यवस्थापन मात्र सहज हुने र व्यावसायिक रूपमा खासै फाइदा नहुने क्यानको भनाइ छ ।

पाण्डेले भने, 'जजिराले यसअघि भैरहवा-कुवेत-भैरहवा उडान गर्दा साढे ९ घण्टा लगाउँथ्यो । काठमाडौं-कुवेत-काठमाडौं उड्दा त्योभन्दा एक घण्टा बढी लाग्थ्यो । त्यसैले भैरहवा उडान गर्दा अतिरिक्त खर्च बेहोर्नुपर्दैन ।'

जहाज बाहिरबाट सिमरा आइसकेपछि काठमाडौं आउन १५ मिनेट र भैरहवा जान २० मिनेट समय लाग्छ । भैरहवाबाट महेन्द्रनगर पुग्दा अझ कम समय लाग्ने उनको भनाइ छ ।

गत साउन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न वायुसेवा कम्पनीका प्रतिनिधिहरूसँग छलफलसमेत गरेका थिए ।

छलफलमा सहभागी वायुसेवा सञ्चालक संघ, नेपाल (एओन)अध्यक्ष मनोज कार्कीले लोकान्तरलाई भने, 'हामी डोमेस्टिक उडान गर्नेहरूले त पोखरा र भैरहवा दुवै एयरपोर्टलाई सहयोग गरिरहेका छौं । प्रधानमन्त्रीज्यूले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई उडान गर्न वातावरण बनाउन सहयोग गर्न भन्नुभयो । हामीले के गर्नुपर्छ त्यो गर्छौं भनेर प्रतिबद्धता दिएका छौं ।'

प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन र युरोपेली संघ (ईयू) ले नेपालको हवाई उडानलाई ‘सेफ्टी’ सूचीमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्न पनि आग्रह गरेका थिए । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ को जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो ।

सञ्चालनमा आएपछि व्यवसायीक रूपमा दुवै विमानस्थलले निरन्तर घाटा खाइरहेका छन् ।

विमानस्थल चलाउन सरकारको पहल र क्यानको तयारी नपुगेको भन्दै आलोचना हुँदै आइरहेका बेला सरकार र क्यान दुवै तातिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्