
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास नभएको भन्ने प्रचार गलत रहेको दाबी गरेका छन् ।
अहिलेको प्रणाली मन नपराउनेहरूले जनताको असन्तुष्टिलाई भड्काउने कोशिश गरिरहेको उनको आरोप छ ।
बिहीबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद डा. नारायण खड्काले सोधेको प्रश्नको जवाफमा ओलीले थुप्रै क्षेत्रमा विकास भएको बताएका हुन् ।
‘विकास नभएको होइन, केही दशक अगाडिसम्म कस्तो हालतमा थियो देश ? यातायात, सञ्चारलगायत थुप्रै क्षेत्रमा विकास भएको छ । साक्षरताको स्थिति डबल भएको छ । ४२ वर्षको औसत आयुलाई ७२ वर्ष पुर्याइएको छ,’ ओलीले भने, ‘मैले दुईपल्ट किड्नी ट्रान्सप्लान्ट गरेको छु, दोस्रोपटक स्वदेशमै गरेको छु ।’
प्रधानमन्त्री ओलीले जनतामा रहेको असन्तुष्टिलाई बढाइचढाइ गरेर भड्काउने कोशिश भइरहेको बताए ।
‘जनतामा (असन्तुष्टि) जति छ, त्योभन्दा बढाएर भड्काउन खोजिएको छ । यसभित्र अरू प्रकारका मनसाय होलान् । राजनीतिक दलका अस्वस्थ प्रतिस्पर्धा पनि कारण हुन सक्छन् । अहिलेको प्रणाली मन नपराउनेले त्यसो गरेका हुन् । नकारात्मक भाषा बोल्दा छिटो प्रचार हुने भएकाले पनि यसो भइरहेको छ ।’