
प्रेस काउन्सिल नेपालले विभिन्न कालखण्ड पत्रिका छापिने मशिनसहितका सञ्चार सामग्रीलाई प्रेस सङ्ग्रहालयमा राख्न अभियान थालेको छ ।
काउन्सिलले ३ वर्ष अघि शुरू गरेको प्रेस सङ्ग्रहालयमा मशिन, टाइपराइटर, कम्प्युटर, विभिन्न पत्र पत्रिकासहितका सामग्री अवलोकन गर्न सकिन्छ ।
विश्वमै नमूना हुन सक्ने यस खालको सङ्ग्रहालयका लागि सञ्चार सम्बद्ध ऐतिहासिक महत्त्वका सामग्री उपलब्ध गराउन सार्वजनिक अपिलसमेत गरिएको छ ।
बिहीबार एक अपिल जारी गर्दै काउन्सिलले विभिन्न सञ्चार माध्यम, सञ्चार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैर सरकारी निकायहरूलाई सहकार्यका लागि आग्रह गरेको हो ।
३ वर्षअघिदेखि काउन्सिल परिसरमा सङ्ग्रहालय स्थापना गरी ट्रेडल मशिन, कटिङ मशिन (म्यानुअल), केस नेपाली र अङ्ग्रेजी (फन्टसहित रूलरसहितको प्रुफ मशिन), विभिन्न आकारका चिम्टा, स्टिक, विभिन्न आकारका रुलरहरू, हेडिङ ब्लक फोटासहित, जिङ्क ब्लक (पुराना फोटासहित), ग्यालीहरू, फ्रेम/साँचो/सेटधागो, हाते टाइपराइटर र फ्याक्स मशिन, पुराना कम्प्युटर मनिटर सङ्ग्रहित गरेर राखिएको छ ।
काउन्सिलले स्थापना गरेको यो सङ्ग्रहालय विश्व प्रेस इतिहासमा नै पहिलो र उदाहरणीय हो ।
यसबाट प्रेसको इतिहास अध्ययन र अनुसन्धानका लागि टेवा पुग्ने अपेक्षा छ ।
‘वर्तमान तथा भावी पुस्तालाई प्रेससँग सम्बन्धित पुराना सामग्रीहरूका बारेमा जानकारी गराउँदै विभिन्न कालखण्डमा विकास एवं प्रयोगमा आएका ऐतिहासिक महत्त्वका छापाखानासहित सामग्रीहरू सङ्ग्रहित गरी सोको जगेर्ना गर्नुका साथै प्रेसको इतिहास अध्ययन अनुसन्धानको थलोको रूपमा विकास गर्नु प्रेस सङ्ग्रहालयको मुख्य ध्येय हो,’ अपिलमा भनिएको छ ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी अपिलमा भनिएको छ ।
काउन्सिलले सङ्ग्रहालयका लागि छुट्टै सब–डोमेन वेबसाइटसमेत सञ्चालनमा ल्याएको छ ।