
‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले हालसम्म पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित ५० जनासँग बयान तथा छलफल गरेको छ । समितिले सहकारी ठगीमा जोडिएका प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछानेसँग शुक्रबार घण्टौँ बयान लिएको थियो ।
बयानको अवधिमा लामिछानेले समितिले सोधेका ५१ वटा प्रश्नको जवाफ सविस्तार दिएको सभापति सूर्य थापाले जानकारी दिए । उनले दिएको जवाफ जनताको जानकारीका लागि जस्ताको भविष्यमा प्रतिवेदनमा समेट्ने थापाको भनाइ छ ।
समितिका एक सदस्यका अनुसार लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै इन्कारी बयान दिएका छन् । यस्तै ठगीको सम्पूर्ण दोष उनले गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईमाथि थोपरेको ती सदस्यको भनाइ छ ।
यसबाहेक समितिले गृहमन्त्री रमेश लेखक र आईजीपी वसन्त बहादुर कुँवरसमेतलाई समितिमा बोलाएर सहकारी ठगीसँग सम्बन्धित २३ फरार २३ जनालाई उपस्थित गराउन निर्देशन दिएको थियो । तर, उनीहरू हालसम्म फेला नपरेपछि बयान पूरा हुन नसकेको थापाको भनाइ छ ।
‘सहकारीसँग सम्बन्धित २३ जना फरार व्यक्तिलाई छानबिनको दायरामा संलग्न हुने गरी खोजबिनका लागि गृहमन्त्री रमेश लेखक र आईजीपी वसन्त कुँवरसँग समेत साउन ७ गते छलफल गरेको थियौँ’, थापाले भने, ‘ अब उनीहरू नभेटिएसँगै यसबारे सरकारसँग फेरि एक पटक गर्नेछौँ ।’ थापाले विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूसँग सोधपुछको कार्य अन्तिम अन्तिमतर्फ पुगेको पनि जानकारी दिए ।
‘अहिलेसम्म ५० जनासँगको सोधपुछ भयो । सहकारी ठगीका पीडकहरू जसलाई दुरुपयोग र ठगीमा औँल्याउँदै आएका थियौँ । जेलभित्रबाट समेत २० जनालाई ल्याएर सोधपुछ भएको छ’, उनले भने, ‘बचत अपचलन, ठगी र यसको समाधानबारे छलफल गरेर तथ्यको आधारमा सत्यमा पुग्नका लागि कोसिस भएको छ ।’
समितिले रविलाई गोरखा मिडिया नेटवर्कका पूर्वसंचालक एवं प्रबन्ध निर्देशकका रूपमा समितिमा बोलाएको हो । गोर्खा मिडियाका अध्यक्ष जीबी राईमाथि १६ अर्ब बचत अपचलनको आरोप छ । राईको साझेदारको रूपमा गोरखा मिडिया नेटवर्कमा जोडिएका लामिछानेले बयानका क्रममा भने आफूमाथि लागेका आरोपको सबै दोषारोपण जीबी राईमाथि थोपरेका हुन् ।
लामिछानेले आफू गोरखा मिडियामा रहँदा आर्थिक हिसाबको पाटो राईले नै सम्हालेकाले यसबारे आफू जिम्मेवार नरहने बताएको समिति स्रोतको भनाइ छ ।
तर प्रहरी अनुसन्धानबाट जीबी राई र उनको समूहले सञ्चालन गरेका सहकारीहरूबाट अर्बभन्दा बढी रकम टिभीमा लगानी गरेको तथ्य खुलेको छ । लामिछाने राजनीतिमा आउनुअघि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका रूपमा १५ प्रतिशत शेयर लिएर प्रवेश गरेको तथ्य यसअघि नै बाहिरिइसकेको छ ।
शुक्रबारको समिति बैठकमा गोरखा मिडिया नेटवर्कमा गएको सहकारीको रकम, लामिछानेको नाममा भएको रकम डिपोजिट र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईसँगको सम्बन्ध तथा सहकार्यका वरिपरि प्रश्नहरूको सूची बनाएको थियो । थापाले पनि लामिछानेको राईसँगको सम्बन्ध र आर्थिक कारोबारका विषयलाई लिएर प्रश्न सोधिएको प्रस्ट पारे ।
बयानका क्रममा लामिछानेले गलत नियतका साथ केही नगरेको र आर्थिक कारोबार सबै राईले नै हेरेकाले त्यसको उत्तरदायी राई स्वयं हुनुपर्ने जिकिर गरेका थिए । उनले आफू गोरखा मिडियामा हुँदा प्रशासनिक कार्यमा मात्रै व्यस्त हुने गरेको बयान समितिमा दिएका थिए ।
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट लामिछानेको नामबाट गोरखा मिडिया नेटवर्कमा गएको रकमका विषयमा समेत उनले हस्ताक्षर, आफ्नो कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको दाबी समितिमा गरेका छन् ।
समितिले लामिछानेअघि शुक्रबार नै गोरखा मिडिया नेटवर्कका पूर्वसंचालक छविलाल जोशीसँग पनि बयान लिएको थियो ।