भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले यात्रुवाहक बस दुर्घटनाका परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे शनिवार जानकारी लिएकी छिन् ।
उनले शनिवार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रवार भएको यात्रुवाहक बस दुर्घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
बस दुर्घटनाबाट २७ जना भारतीय नागरिकको निधन भएपछि राज्यमन्त्री खड्से नेपाल आएकी हुन् ।

उनले गृहमन्त्री रमेश लेखकबाट बस दुर्घटना, क्षति, उद्धार तथा घाइतेहरूको उपचारको प्रबन्धलगायतका विषयमा जानकारी लिएकी थिइन् ।
बस खस्दा मृत्यु भएका भारतको महाराष्ट्रका तीर्थयात्रीको शव नासिक लैजाने तयारी भएको छ ।
शिक्षण अस्पतालमा राखिएका शवको पोस्टमार्टम सकिएपछि भारतीय वायुसेनाको विमानबाट नासिक लैजाने तयारी थालिएको सुरक्षा स्रोतले जनाएको छ ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको फौजले धेरै कठिनसँग घाइतेको उद्धार गरेका थिए । सेनाको हेलिकप्टरबाट घाइतेलाई दुईपटक गरी काठमाडौं ल्याइएको थियो ।