
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको उदाहरण दिँदै प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले)प्रति कटाक्ष गरेका छन् ।
पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले दुई–तिहाइको दम्भ नपाल्न सत्तारुढ दलहरूलाई चुनौती दिए ।
‘दुई–तिहाइ भए पनि केही गर्न सक्नेवाला छैन । पाँच-सात महिनाअघि मात्रै बंगलादेशमा शेख हसिनाको पार्टीले दुई–तिहाइ ल्याएको थियो । के गर्यो दुई–तिहाइले ?,’ उनले भने, ‘जनभावनाविपरीत गयो भने त्यस्ता दुई–तिहाइ जनताले ठेगान लगाउँछन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादीले दलाल पुँजीपति, नोकरशाह, सामन्त र निरंकुशतावादीहरूलाई चुनौती दिएकाले आफू नेतृत्वको सरकारलाई हटाइएको दाबी गरे । अघिल्लो निर्वाचनमा माओवादीले ३२ सिट ल्याएपनि दलाल–विचौलियालाई चुनौती दिएको उनकाे दाबी थियाे ।
‘माओवादीले दलाल पुँजीपति, नोकरशाह, सामन्त र निरंकुशतावादीहरूलाई चुनौती दिएको छ भन्ने परेपछि तिनीहरूले त्यो सरकारलाई हटाएका हुन् । तपाईंहरुले देख्दा कांग्रेस र एमालेका नेता मिलेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ, तर त्यो रुपमात्रै हो,’ उनले थपे, ‘सार चाहिँ यो देशका दलाल पुँजीपति, विचौलिया कमिसनखोरहरूले आफ्नो प्रतिनिधिका रुपमा सिंगारपटार गरेको यो सरकार बनाएको हो । त्यसैले यो भ्रष्टाचारीहरूको सरकार हो । यसले भ्रष्टाचारको रक्षा गर्छ ।’
सो अवसरमा प्रचण्डले २०६४ को निर्वाचनमा माओवादीलाई भोट हाल्नेको लिस्ट निकाल्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।