
भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपु¥याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन् ।
नगरप्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि आज दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ । शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले आज रातिसम्म शव माडी आइपुग्ने उनले जानकारी दिए ।
बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो ।