
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढीस्थित घरअगाडि शंकास्पद वस्तु फेला परेको घटना रहस्यमय बन्दै गएको छ ।
बेबारिसे झोलाभित्र हेर्दा इलेक्ट्रिक केटली भेटिएको र त्यसको भित्र टिफिन बक्स फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कविन्द्र बोहराले लोकान्तरलाई जानकारी दिए ।
'बेबारिसे झोलाभित्र हेर्दा इलेक्ट्रिक केटली भेटिएको छ । त्यसको भित्र टिफिन बक्स फेला परेको छ । यो निकै रहस्यमय लागेकाले डिस्पोज गराउने तयारी भइरहेको छ,’ उनले भने ।
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोषनजिकै रहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको घरअगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको थियो ।
एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।
शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको थियो । सो टोलीले आइतवार बिहान डिस्पोज गराउने तयारी गरेको हो ।
धनगढीको घरमा कांग्रेस सभापति देउवाका भतिजा तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा बस्ने गर्छन् ।