०३ असार २०८३, बुधबार

अपडेटः कटारीबाट ओखलढुंगा जाँदै गरेको जिप दुर्घटना, नौको मृत्यु, दुईको उद्धार

कात्तिक २०, २०७४
अपडेटः  कटारीबाट ओखलढुंगा जाँदै गरेको जिप दुर्घटना, नौको मृत्यु, दुईको उद्धार
उदयपुर, १३ कात्तिक - उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार चालक हरि कार्कीसहित ११ जना यात्रु बोकेर कटारीबाट ओखलढुंगा जाँदै गरेको उक्त जिप ठाटीको सडकको भिरबाट ५०० मिटर तल खस्दा घटनास्थलमा नौजनाको मृत्यु भएको हो ।

भर्खरै प्रहरी घटनास्थलमा पुगे पनि मृतक यात्रुको शव भिरमा नै अड्किएका कारण निकाल्न कठिनाइ भइरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभएको छ ।

यता चालकलाई अस्पताल पु¥याएपछि उपचारका क्रममा मृत्यु भएको र आठ वर्षीय बालक र एक महिला भने घाइते अवस्थामा भेटिएका कारण स्थानीयवासीले प्रहरी पुग्नु अगाडि नै उद्धार गरेर निकालेको पनि प्रहरीले बताएको छ ।

घाइते दुईजनालाई अहिले उपचारका लागि कटारी अस्पताल लगिएको पनि प्रहरीले बताएको छ । मृतकका शव पहरामा अड्केका कारण निकाल्न कठिनाइ भएकाले नाम र ठेगानासमेत पहिचान गर्न कठिनाइ भइरहेको पनि प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।

घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ । यता दुर्घटनामा परेको जिप भने ५०० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ ।

जिप दुर्घटनाको कारण उकालो बाटोमा बढी लोड भएका कारण जिपले लोड तान्न नसक्दा पछाडि झरेर दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल कटारी बजारदेखि १३ किलोमिटर पश्चिम पहाडी क्षेत्रमा पर्दछ । रासस

salt training

कमेन्ट गर्नुहोस्