
पर्यटकीय तथा सांस्कृतिक नगरी तनहुँको बन्दीपुरमा शनिबार राति बाघजात्रा निकालिएको छ ।
संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित खड्गमाई सांस्कृतिक परिवारको आयोजनामा बाघजात्रा प्रदर्शन गरिएको हो ।
बाघजात्रा प्रदर्शन अगाडि शनिबार बिहान सर्वसाधारणलाई निम्तो बाँडिएको थियो ।
जात्राहरूको संरक्षण गर्ने उद्देश्यसहित बाघजात्रा देखाइएको सांस्कृतिक परिवारका सचिव सुजन श्रेष्ठले जानकारी दिए । उनले भने, 'हाम्रो संस्कृति, रितीरिवाज लोप हुन दिनु हुँदैन, यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यसहित बाघजात्रा प्रदर्शन गरिएको हो ।'
परिवारका अध्यक्ष गेहेन्द्र प्रधानले बन्दीपुरका नेवार समुदायले यहाँ जात्राहरूका संरक्षण गर्दै आएको जानकारी दिए ।
उनका अनुसार बाघजात्राको दिन गरिएको अभिनयअनुसार दुःख दिने बाघलाई सिकारीले लखेटेर मारेका छन् । बाघजात्रामा बाघ, डाक्टर, नर्स, सिकारी, पहलवान, राजाको भूमिकामा यहाँका नेवार समुदायका व्यक्तिहरूले अभिनय गरेका थिए ।
बन्दीपुरमा जात्राको संरक्षणले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा मिलेको नेवाः पुचका अध्यक्ष किसान प्रधानले बताए । यहाँ दुई सय ५० वर्ष पहिलेदेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् ।
प्रधानले भक्तपुरबाट बसाइँसराइ गरी आएका नेवार समुदायले यहाँ संस्कृतिको संरक्षण गरिरहेको उल्लेख गरे ।
बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ ।
यहाँका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउने गरेका छन् ।