वर्षाका कारण मानसरोवर कैलाश जाने चीन तर्फको भू–भागमा शुक्रबार रातिदेखि अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ ।
केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपरान्हदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार रसुवागढीको मितेरीपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भू-भागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरीपुलबाट आउजाउ गर्न थालेका छन् ।
सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका थिए ।
रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्याई गन्तव्य जान थालेका प्रजिअ खनालले जानकारी दिए ।
रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नम्बर गुल्म रसुवाले समन्वय गरी यथेष्ट सहयोग गरेको प्रजिअ खनालले बताए ।