
नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौंको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरणलगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ एमाले बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, पूर्वप्रमुख विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
टोलीले मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा काठमाडौं क्षेत्र नं ३ स्थित सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन र उपत्यकाको विभिन्न भागमा पुनःभरणको योजना अगाडि बढाउन माग गरेको छ । यस्तै यहाँका नदीहरूको सौन्दर्यीकरण र फोहरमैलाको दीर्घकालीन समाधान गर्न पनि माग गरिएको छ ।
प्रतिनिधि मण्डलले काठमाडौं महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह समेत गरेको छ ।
उक्त उत्प्रेषणको आदेशका आधारमा गत साउन २४ गतेको महानगरपालिकाका प्रमुखस्तरीय निर्णयबाट नक्सा अनुमति रोक्काको सूचना प्रकाशन गरिएको जनाइएको छ ।
ध्यानाकर्षण बुझ्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनजीवनमा समस्या सम्बोधनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल गर्ने बताए ।