०२ साउन २०८३, शनिबार
मध्यपूर्वमा तनाव

इजरायल-हमास युद्धमा हिजबुल्लाहको इन्ट्री, युद्धविरामका लागि इजिप्टको मध्यस्थता

भदौ १०, २०८१
काठमाडौं
इजरायल-हमास युद्धमा हिजबुल्लाहको इन्ट्री, युद्धविरामका लागि इजिप्टको मध्यस्थता
दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी इजरायली सेनाले गरेको आक्रमण

इरान समर्थित हिजबुल्लाहले इजरायलको सैन्य अखडाहरूमा ३ सयभन्दा बढी रकेट र ड्रोन प्रहार गरेपछि मध्यपूर्वमा आइतबार निकै ठूलो संकट देखियो ।

त्यसको बदलामा इजरायलले लेबनानस्थित हिजबुल्लाह रहेको मानिएका ठाउँहरूमा हवाई आक्रमण गर्‍यो । इजरायलले आइतबार बिहान दक्षिणी लेबनानमा भारी हवाई हमला गरेको थियो ।

हिजबुल्लाहले गत महिना मारिएका आफ्ना नेता फौअद शुकुरको बदला लिन रकेट र ड्रोन हमला गरेको विज्ञप्तिमार्फत जनाएको थियो ।

गत महिना इजरायलले लेबनानमा आक्रमण गरेर हिजबुल्लाहका एक शीर्ष नेता शुकुरको हत्या गरेको थियो ।

यससँगै इजरायल र हमासबीच हुँदै आएको लडाईंमा हिजबुल्लाह मिसिएको छ । हिजबुल्लाहलाई इरानले सैन्य समर्थन गरिरहेको छ ।

दुवै पक्षबीच भइरहेको भारी गोलाबारी सोमबार बिहान रोकिएको छ ।

इजिप्टले १० महिनादेखि चलिरहेको इजरायल-हमास युद्धमा युद्धविरामका लागि उच्चस्तरीय वार्ताको आयोजना गरिरहेको छ । इजिप्टकै हस्तक्षेपका कारण सोमबार बिहान तनाव केही मत्थर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायल र हिजबुल्लाह दुवैले आफ्नो आक्रमण केवल सैन्य अखडामा केन्द्रित भएको बताएका छन् । हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्धविरामका लागि भइरहेको वार्तालाई नजरअन्दाज गरेको आरोप लगाएका छन् ।

आफूहरूले इजरायलमाथि गरेको आक्रमणले इजरायललाई वार्ताप्रति थप जिम्मेवार बनाउने उनको दाबी छ । उनले तेल अभिवमा इजरायलले गोप्य सैन्य अखडा खडा गरेको पनि आरोप लगाए ।

इजरायली सेनाका अनुसार आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको र अन्य दुईजना घाइते भएका छन् । हिजबुल्लाहले आफ्ना तीन लडाकू मारिएको बताएको छ ।

यो घटनाक्रमपछि लेबनानको अन्तरिम सरकारले शान्तिको अपील गरेको छ भने छिटै युद्धविराम हुने अपेक्षा पनि गरेको छ । पछिल्लो समय इरान यस युद्धमा एक महत्वपूर्ण खेलाडीको रूपमा देखिएको छ, जसले हिजबुल्लाहलाई समर्थन गर्दै इजरायलविरुद्ध थप कारबाहीको धम्की दिएको छ ।

इरानी सरकारी मिडियाले हिजबुल्लाहको आक्रमणको प्रशंसा गर्दै सफल भएको उल्लेख गरेका छन् ।  यद्यपि इरानी अधिकारीहरूले वर्तमान स्थितिबारे प्रत्यक्षरूपमा कुनै टिप्पणी गरेका छैनन् ।

के तत्कालका लागि युद्ध टरेको हो ?

अमेरिकाको वाशिंगटन डी.सी.स्थित मध्यपूर्व संस्थानका वरिष्ठ अनुसन्धानकर्ता रान्डा स्लिमले गोलाबारी अझै पनि सङ्घर्षको नियमभित्र रहेको र तत्कालका लागि पूर्ण युद्धतिर नजाने सम्भावना भएको बताएका छन् ।

इजरायलको राष्ट्रिय सुरक्षा अध्ययन संस्थानका विज्ञ डेनी सिट्रिनोविक्जले हिजबुल्लाहले युद्धलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेको हुन सक्ने बताएका छन् । दुवै पक्षले यही घटनाक्रमलाई नै आफ्नो विजय भएको घोषणा गर्ने र ठूलो संघर्षमा नजाने नीति लिएको उनको दाबी छ ।

हिजबुल्लाहले २००६ मा इजरायलसँग गरेको युद्धविराम तोडिएको घोषणा अहिलेसम्म गरेको छैन । संयुक्त राज्य अमेरिका र इजरायलले हिजबुल्लाहसँग करिब डेढ लाख रकेट रहेको र इजरायलको कुनै पनि ठाउँमा मार हान्न सक्षम रहेको अनुमान गरेका छन् ।

हिजबुल्लाहले गर्ने कुनै पनि आक्रमणको तीव्र प्रत्याक्रमण गर्ने इजरायलले जनाएको छ ।

हिजबुल्लाहले गत महिना तेहरानमा एक वरिष्ठ हमास नेताको हत्या गरेको भन्दै इजरायलसँग पटक-पटक बदला लिने धम्की दिने गरेको छ । हमासका नेता इस्माइल हनिएहको हत्यामा इजरायल संलग्न थियो वा थिएन भन्नेबारे स्वतन्त्र पुष्टि भने भएको छैन ।

अमेरिका र अन्य मध्यस्थकर्ताहरूले इजरायल र हमासबीच युद्धविराम गराउन पटक-पटक प्रयास गर्दै आइरहेका छन् । हिजबुल्लाहले पनि युद्धविराम भएमा आफूले इजरायलमाथि आक्रमण नगर्ने बताइसकेको छ ।

मध्यस्थकर्ताका रूपमा काम गरिरहेको इजिप्टले आइतबारदेखि कायरोमा हमासले बन्धक बनाएका इजरायली छुटाउनेबारे उच्चस्तरीय वार्ताको आयोजना गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्