
पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका २३ जनाको हत्या गरेका छन् । यी सबै पञ्जाब प्रान्तका थिए । घटना बलुचिस्तानको मुसाखेल जिल्लाको हो ।
सहायक आयुक्त मुसा खेल नजीबले घटनाको पुष्टि गरे । उनले प्रहरी नियन्त्रणमा रहेको क्षेत्रमा गएराति गोली चलेको बताए ।
जानकारीका अनुसार केही अज्ञात व्यक्तिहरूले पञ्जाब र बलुचिस्तानको बीचमा चलिरहेका ट्रक र बसहरूलाई रोकेका थिए ।
चरमपन्थी समूह बलोच लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ र उसले प्रान्तका विभिन्न क्षेत्रबाट सडक अवरुद्ध गरेको जनाएको छ ।
बलुचिस्तानका विभिन्न इलाकामा राजमार्गमा हतियारधारी मानिसको उपस्थितिका कारण यातायात अवरुद्ध भएको खबर आएको थियो ।
सरकारी अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले कैयौं गाडीमा आगजनी समेत गरेका छन् ।