
चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ । चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिमसमेत चीन सरकारले व्यवस्थापन गर्ने छ ।
यसअघि नेपाल सरकारसँग यससम्बन्धी सम्झौता भइसकेको भन्दै उनले सन् २०२४ को अन्तिमदेखि भवन निर्माण शुरू हुने बताए ।
गत वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी)का प्रमुख लियु झाओ हुईले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेका निर्देशक डा. पौडेलले जानकारी दिए ।
सम्झौतामा ‘चीन सरकारले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ’ भन्ने उल्लेख छ ।
त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमति भएको उनले बताए ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार चिनिया टोली यहाँ आएर भवन निर्माणस्थलको अनुगमन गरेर गइसकेको छ ।
उनले हालको प्रशासन भवनको पछाडि रहेको जग्गा छनोट गरिएको बताए ।
उपनिर्देशक नेपालले ठाउँको छनोट भइसकेको भन्दै उक्त ठाउँको माटो परीक्षणको काम समेत चिनियाँ टोलीले गरिसकेको जानकारी दिए ।