
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी विस्तार तथा कार्यकारिणी समिति मनोनयनमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोज कुमार यादवलाई उपेक्षा गरेका छन् ।
सप्तरी-२ मा प्रतिनिधि सभा सदस्यमा चुनाव हारेपछि उपेन्द्रलाई बारा-२ बाट जिताउन निर्णायक भूमिका निर्वाह गरेका पूर्व मुख्यमन्त्री यादव पदाधिकारीदेखि कार्यकारिणी समितिसम्म कतै अटाएनन् ।
उपेन्द्र बारामा चुनाव लड्दा सरोज यादवकै कलैयास्थित घरमा बसेका थिए । त्यति मात्र होइन, मुख्यमन्त्री यादव उपेन्द्रको पक्षमा मत तान्न दिनरात खटेका थिए । उनी उपाध्यक्षको दाबेदार भएपनि पदाधिकारीदेखि कार्यकारिणी समितिमा समेत नअटाएका हुन् ।
त्यसैगरी, मधेश प्रदेशकै पूर्व मुख्यमन्त्री लालबाबु राउत पनि सह–अध्यक्षको दाबेदार थिए । तर, उपेन्द्रले उनलाई महासचिव बनाएका छन् ।
राउत पहिले पार्टीको उपाध्यक्ष थिए । तर, उनलाई महासचिव बनाइएको छ । अहिले उनको बढुवाभन्दा पनि घटुवा भएको छ ।
'पार्टीमा बढुवा वा घटुवा भन्ने कुरा हुँदैन । जिम्मेवारीको कुरा हुन्छ,' राउतले लोकान्तरसँग भने, 'अध्यक्ष र महासचिव मुख्यरूपमा कार्यकारिणी पद हो । पार्टी अध्यक्षले मलाई महासचिवको जिम्मेवारी दिनुभएको छ ।'
उनले थपे, 'महासचिव पद मलाई मन परेको छ कि छैन भन्ने फरक कुरा हो । मेरो चाहना सह–अध्यक्षकै थियो । तर, मलाई पार्टी अध्यक्षले जिम्मेवारी दिनुभएपछि स्वीकार गर्नैपर्छ ।'
त्यसैगरी जसपा नेपालका प्रमुख नेता मानिएका सिरहाका विजय यादव पनि पदाधिकारी तथा कार्यकारिणी समितिमा अटाएका छैनन् ।
मधेश प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका यादव जसपा नेपालको कोषाध्यक्ष भइसकेका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भए पनि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
नेकपा माओवादी केन्द्र परित्याग गरेर जसपा नेपालमा प्रवेश गरेका महोत्तरीका रामकुमार शर्मालाई भने उपेन्द्रले महासचिव पदमा मनोनयन गरेका छन् । मधेशी जनअधिकार फोरम नेपालमा हुँदा शर्मा सचिव हुँदै महासचिव समेत भएका थिए ।
१७ वर्षपछि पुनः उपेन्द्रसँगै जोडिएका शर्मालाई उनले पुनः महासचिव पद दिएर पुरस्कृत गरेका छन् । शर्मा उक्त पदका दाबेदार भएपनि पार्टी प्रवेश गरेलगत्तै दिइएको शक्तिशाली कार्यकारिणी पदले जसपा नेपालका अन्य नेताहरू भने असन्तुष्ट बनेका छन् ।
महाधिवेशनमा कोषाध्यक्षका उम्मेदवार समेत रहेका धनुषाका बलराम महतोको ठाउँमा उम्मेदवार नै नरहेकी महोत्तरीकी प्रदेश सभा सांसद सुरिता साहलाई उपेन्द्रले कोषाध्यक्ष बनाएका छन् ।
'अब अध्यक्षले मलाई कोषाध्यक्षको लायक बुझ्नुभएन होला । मैले दाबी गरेकै हो, तर उहाँलाई त्यो पदका लागि म लायक नभएको जस्तो लाग्यो होला,' महतोले लोकान्तरसँग भने, 'हामीले एकल अधिकार अध्यक्षजीलाई दिएका थियौं । उहाँलाई जे ठीक लाग्यो, त्यही गर्नुभयो । अहिले मैले के प्रतिक्रिया दिऊँ ?'
मधेश प्रदेशका पूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका पूर्व सांसद रामबाबु कुमार यादवलाई पनि उपेक्षा गरिएको छ । बाराका यादव पदाधिकारीदेखि कार्यकारिणी समितिमा कतै अटाएका छैनन् ।
रौतहटका योगेन्द्र राय यादव उपमहासचिवका दाबेदार थिए । तर, उनले केन्द्रीय सदस्यमा मात्र चित्त बुझाउनुपरेको छ ।
पार्टीको विधानबमोजिम एउटै पदमा तीनभन्दा बढी भए एकजना महिला राख्नुपर्ने अनिवार्य व्यवस्था छ । तर, उक्त प्रवाधानविपरीत ५ जना उपाध्यक्ष मनोनयन गर्दा एकजना पनि महिला राखिएको छैन ।
राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत बज्राचार्यलाई उपाध्यक्ष मनोनयन गरिएको छ ।
उपमहासचिव र सचिवमा भने महिलालाई स्थान दिइएको छ । रेखा यादवलाई उपमहासचिव र लीला सिटौलालाई सचिवमा मनोनयन गरिएको छ । उपमहासचिवमा सांसदद्वय प्रकाश अधिकारी र दीपक कार्कीलाई मनोनयन गरिएको छ । सचिवमा ७ जना मनोनयन गरिएको छ । प्रवक्तामा मनिष सुमन यथावत छन् ।
भूगोलको हिसाबले पदाधिकारीदेखि कार्यकारिणी समितिमा सर्लाही र बारा जिल्ला निल देखिएको छ ।
'पार्टी अध्यक्षले गर्नुभएको मनोनयनलाई लिएर पुराना नेताहरू धेरै असन्तुष्ट छन् । तर, विद्रोह गर्ने वा विरोध गर्ने हिम्मत कसैको पनि छैन,' जसपा नेपालका एक नेताले लोकान्तरसँग भने, 'मधेश प्रदेशकै निवर्तमान अर्थमन्त्री सञ्जयकुमार यादव पदाधिकारीदेखि कार्यकारिणीमा समेत अटेका छैनन् ।'
तत्काल यसको असर नदेखिए पनि आगामी चुनावमा त्यसको असर देखिने ती नेताले बताए ।
हेर्नुहोस्, क-कसले पाए जिम्मेवारी ?


