
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि जङ्गी सुधार आवश्यक रहेको बताएका छन् ।
एमाले केन्द्रीय प्रचार विभागको १३ औं बैठकलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।
उनले क्रान्तिमा च्याम्पियन भए पनि लोकतन्त्रको व्यवस्थापनमा भने केही कमजोरी रहेको पनि उल्लेख गरे ।
उनले जनमतकै आधारमा जङ्गी सुधार गर्न सकिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा जङ्गी सुधारका कार्य अघि बढाएको स्मरण गराए ।
त्यतिबेला जङ्गी सुधारको अभियानका विरुद्धमा सिन्डिकेट चलाइरहेकाहरु, ठेक्कापट्टाका काम गर्नेहरु र सुधारका अभियान चलाउँदा आफूहरुलाई घाटा हुन्छ भन्ने ठान्नेहरुले सुधार नचाहेको उनले बताए । जनतालाई भड्काउने काम गरेर जङ्गी सुधारमा अवरोध गरेको पनि उनको दाबी छ ।
महासचिव पोखरेलले वित्तीय पूँजीवादको होडवाजीले दक्षिण एशियाको राजनीतिमा उथलपुथल भएको पनि स्मरण गराए । उनले व्यापारिक स्वार्थको टकरावलाई राजनीतिक चश्माले हेर्दा पनि थप समस्या भएको उल्लेख गरे ।
उनले राजनीतिमा वैकल्पिक शक्ति भन्ने मनोगत कुरालाई नयाँ र स्वतन्त्र हुँ भन्नेहरुको आर्थिक, सामाजिक जीवनमा देखिएको छताछुल्ल अवस्थाले विस्स्तारै तोड्दै गएको पनि स्मरण गरे ।
सामाजिक सञ्जालको दुरुपयोगमा अयोग्य मान्छेलाई योग्य प्रमाणित गराउन खोज्ने र असललाई पनि खराब देखाउन खोज्ने प्रवृत्ति दुवैले दीर्घकालमा असर गर्ने पनि उल्लेख गरे ।