
इरानले सोमबार लेबनानको हिजबुल्लाह समूहद्वारा इजरायलमा ड्रोन र मिसाइल आक्रमणको प्रशंसा गरेको छ ।
इरानले उसको कट्टर दुश्मन इजरायलले बढ्दो क्षेत्रीय तनावका बीच यस्ता आक्रमण रोक्ने क्षमता गुमाएको बताएको छ ।
हिजबुल्लाह नेता हसन नसरल्लाहले आइतबार ‘गिलोट बेस–मुख्य इजरायली सैन्य गुप्तचर आधार’ लाई निशाना बनाउँदै इजरायलमाथि ठूलो मात्रामा आक्रमण गरेको बताएका थिए ।
इजरायली सेनाले प्रतिष्ठानमा कुनै प्रहार नभएको बताएको छ ।
“यहुदी शासन लेबनानी हिजबुल्लाह अभियानका सम्बन्धमा केही तथ्यलाई लुकाउन, विकृत गर्न वा सेन्सर गर्न सक्षम हुनसक्छ तर विद्यमान तथ्य परिवर्तन हुँदैन भन्ने उसलाई राम्ररी थाहा छ”, इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले सामाजिक सञ्जाल एक्समा भने, “इजरायली आतङ्कवादी सेनाले आफ्नो प्रभावकारी आक्रमण र निवारक शक्ति गुमाएको छ र अब उसले रणनीतिक आक्रमणहरू विरुद्ध आफ्नो रक्षा गर्नुपर्दछ ।”
कनानीले हिजबुल्लाहको आक्रमण ‘कब्जा गरिएका क्षेत्रहरूमा गहिराइसम्म फैलिएको’ र इजरायलको क्षतिका लागि ‘रणनीतिक सन्तुलनमा आधारभूत परिवर्तन’ भएको बताए ।