
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको आरोप लगाएका छन् । वर्तमान सरकार गर्भदेखि नै जनताको बीचमा ‘एक्सपोज’ भएको उनले टिप्पणी गरे ।
मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर प्रचण्डले सरकारको गलत नियतका कारण आफूले सरकारको आलोचना गर्न १०० दिनको ‘हनिमुन पिरियड’ कुर्न नसकेको बताएका हुन् ।
‘सरकारको नियत र गन्तव्यको अवलोकनपछि मेरो निष्कर्ष– उ अहंकारपूर्ण गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको उन्माद छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकार माफियाको सेवामा लागेको आरोप लगाए । ‘सरकारको जगमा विश्वास होइन, डर छ । गर्भदेखि जनताको बीचमा एक्सपोज थियो, भइरहेको छ,’ उनले थपे ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले बोल्दा प्रधानमन्त्री ओली संसदमै उपस्थित छन् ।