
नेकपा (एकीकृत समाजवादी)का पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न मतदान शुरू भएको छ । मंगलवार साँझ आलोकनगरस्थित केन्द्रीय कार्यालयमा मतदान शुरू भएको हो ।
एकीकृत समाजवादीले मंगलवार ६ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिवसहित १७ पदाधिकारीको निर्वाचन गरिरहेको छ । यस्तै निर्वाचनबाटै १०५ जना पोलिटब्युरो सदस्य पनि चयन हुँदैछन् ।
यसअघि मंगलवार नै एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका छन् । निर्वाचनको तयारी गरिए पनि घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे मंगलवार सर्वसम्मत चुनिएका हुन् ।
आइतवारदेखि काठमाडौंमा शुरू भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पाण्डेलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चुनेको हो ।
उनी यसअघि पार्टीका उपाध्यक्ष थिए । पाण्डे प्रतिनिधिसभामा एकीकृत समाजवादीका संसदीय दलको उपनेतासमेत हुन् ।
अध्यक्ष, महासचिव र सम्मानित नेता भने यसअघि नै पार्टी महाधिवेशनबाट चुनिएका थिए ।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरूले पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्नेछन् ।