
सिन्धुपाल्चोकका वीरबहादुर तामाङ र राजन लामा आइतबार बिहानै यातायात व्यवस्था कार्यालय चाबहिलको लाइनमा भेटिए । बिहानै ८ बजेदेखि लामो लाइनमा बसेका मामाभन्जा (तामाङ–लामा)ले १० बजे कार्यालय खुलेपछि राहत महसुस गरेका थिए । तर, चर्को घाममा थप एक घण्टा बिताउँदा लाइन रोकिइहाल्यो ।

‘के भयो ? लाइन किन अगाडि बढेन ?’ लाइनमा भएकाहरूले प्रश्न गरे । भित्रबाट जवाफ आयो, ‘सर्भरमा समस्या आयो, एक छिन हल्ला नगर्नुस् ।’ उनीहरूसहित लाइनमा बसेका सयौं जना निराश भए ।
करिब आधा घण्टापछि पुनः यातायातको सिस्टमले काम गर्न थाल्यो । मामाभान्जा थोरै अगाडि बढे । १२ बजेतिर यातायातको गेटभन्दा करिब ५० मिटर नजिक पुग्दा फेरि सिस्टम बिग्रियो । उनीहरू फेरि निराश भए ।
दुई दिनअघि मात्रै काठमाडौंको चाबहिलमा भान्जाको कोठामा बस्न आएका वीर सुनाउँछन्, ‘के गर्नु यातायातको हालत यस्तो छ, देशको त कुरै नगरौँ । अहिलेको समयमा पनि दिनभरि लाइन बस्नुपरेको छ ।’
मामा वीर र भान्जा राजन दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स बनाउन यातायात कार्यालयमा पुगेका थिए । तर, चार घण्टा लाइनमा बस्दासमेत भित्र पस्ने पालो आएको थिएन । सबै काम सकाउन उनीहरूले अझै करिब ३ घण्टा कुर्नुपर्यो ।

उनीहरूसँगै लाइनमा रहेका अरूको पीडा पनि उस्तै थियो । दिउँसो १ बजेतिर ढोका नजिक पुग्नै लागेका वीर र राजनका बीचमा एक जना पुरुष छिरे । छेउँमै लाइनमा उभिएकी मञ्जु चर्को स्वरमा कराइन्, ‘बिहानै आएर लाइनमा बसिरहेका छौँ । ४ घण्टा भइसक्यो । तपाई बीचमा नर्छिनुस् त । पछाडि गएर उभिनुस् ।’
उनी पनि बिहान पौने ९ बजेदेखि लाइनमा बसेकी रहिछिन् । ‘बिहान ८.४५ मा आएर लाइन बसेको थिएँ । अहिले साढे २ बजे बल्ल फोटो खिचेर साइन गर्ने काम भएको छ । अब फेरि मेडिकल अनि राजस्व तिर्न कति समय लाग्ने हो थाहा छैन’, मञ्जुले दुःख सुनाइन् ।
बायोमेट्रिक सकाएपछि वीर, राजन र मञ्जु पुनः मेडिकल शाखाको लाइनमा लागे । त्यहाँ पनि बिहान आउँदा लागेको लाइनभन्दा कम थिएन । शाखामा ब्लड ग्रुप जाँच गराएको कार्ड नभएकाले एक सय पाँच रुपैयाँ दिए भने ब्लड ग्रुप कार्ड भएकाले ५५ रुपैयाँ तिरे ।

जसोतसो लाइन छिचोलेर उनीहरूले आँखा जाँच गराए । त्यहाँबाट निस्कँदासम्म ३ बजिसकेको थियो । उनीहरूको काम अझै सकिएको थिएन । राजश्व बुझाउन बाँकी नै थियो । साढे ३ बजे मञ्जु, वीर र राजनले पाँच सय राजश्व तिर्न पाए ।
लगभग दिनभर लाइन बसेर पाँच सय तिर्न पाएकोमा उनीहरू खुसी थिए । ‘बिहान ८ बजेदेखि लाइन बसेर साढे ३ बजे बल्ल यताको काम सक्काइयो,’ वीरले सुनाए, ‘१० बजे आएकाको हालत के होला ? यतिकै नेपालमा केही छैन भनेको होइन रैछ ।’ दुवै जना भोलिपल्ट लिखित परीक्षा दिन जानुपर्छ भन्दै कार्यालयबाट बिदा भए ।
यातायात कार्यालय चाबहिलमा आइतबार देखिएको यो दृष्य प्रतिनिधि घटना हो । कार्यालय खुल्ने हरेक दिन यस्तै सास्ती ब्यहोर्नु परिरहेको सेवाग्राहीको गुनासो छ ।

बागमती प्रदेशअन्तर्गत रहेको यातायात कार्यालय चाबहिलमा नयाँ र पुरानो लाइसेन्स नवीकरण गर्न आउनेहरूको लाइन दैनिक उस्तै देखिन्छ । बायोमेट्रिक गरेपछि पनि मेडिकल र राजश्व बुझाउन फेरि लामै लाइन बस्नुपर्छ । धेरै सबैकुरा डिजिटल भइसक्दा पनि कार्यालयमा पैसा बुझाउन लाइनै बस्नुपर्छ । लाइसेन्सको फर्म अनलाइनबाटै भर्न मिल्छ । तर, बायोमेट्रिक, मेडिकल र राजश्व बुझाउन लाग्ने लामो लाइन भने हटेको छैन ।

यातायात व्यवस्था कार्यालय चाबहिलमा गत एक सातादेखि सिस्टममा समस्या आइरहेको एक कर्मचारीले बताए । ‘खै यो कति वर्ष पुरानो सफ्टवेयर हो ? बेलाबेलामा समस्या देखिरहन्छ । यहाँ मात्रै होइन यातायातको मुख्य सफ्टवेयर नै पुरानो रहेछ । कसले के गर्ने ? सबै भगवान भरोसा छ,’ ती कर्मचारीले लोकान्तरसँग भने ।
तर, कार्यालयका सूचना अधिकारी मखमली अधिकारीले भने गत आइतबार मात्रै केही समय मुख्य सर्भरमा समस्या आएको दाबी गरिन् । कहिलेकाही मात्रै सर्भरमा यस्तो समस्या देखिने गरेको उनको दाबी छ ।