
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा भएको निर्वाचनबाट ८४ जना विजयी भएका छन् । पोलिटब्युरो सदस्य चयनका लागि मंगलबार भएको निर्वाचनको बिहीबार अन्तिम मतपरिणाम आएको हो ।
जसअनुसार नेता विरोध खतिवडा सर्वाधिक मतका साथ विजयी भएका छन् । सार्वजनिक नतिजाअनुसार उनले २०१ पाएर विजयी भएका हुन् ।
त्यसपछि जीवनराम श्रेष्ठले १९५ मत पाएका छन् भने तेस्रोमा रमा आलेले १९४ मत पाउँदा रामकुमारी झाँक्रीले १८२ मत पाएकी छन् ।
एकीकृत समाजवादीको विधानअनुसार पदाधिकारीसहित पोलिटब्युरोमा १०५ जना निर्वाचित हुन्छन् । निर्वाचनबाट भने ८४ जना निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
००००
कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली २०७४ अनुसार न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाउन माग गरेको छ ।
अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको संयुक्त विज्ञप्तिमा संशोधित नियमावली खारेज गरेर मात्र न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ ।
००००
सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।
नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
००००
सहकारी छानबिन संसदीय विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ । सभापति सूर्य थापाले बुधबार यसबारे जानकारी दिएका हुन् ।
समितिले विभिन्न नियामक निकाय, सरोकारवाला व्यक्ति, संस्थासँग छलफल सकेसँगै अब प्रतिवेदन लेखन थालेको हो।
००००
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबारसम्म २ सय १० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा २ सय १० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
००००
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र सूचना प्रविधि निर्देशक मुकेश रेग्मीलाई तत्काल निलम्बन गरी कारबाही अगाडि बढाउन माग गर्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका– २ का तोताद्रीप्रसाद बरालले ६ पृष्ठको उजुरी राज्य व्यवस्था समितिमा दर्ता गराएका हुन् ।
अवैध सवारी चालक अनुमति पत्र बिक्री वितरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनलाई गुमराह गर्ने गरी रिजालले रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको र उक्त समितिले गलत प्रतिवेदन तयार पारेको दाबी उजुरीमा गरिएको छ ।
००००
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१० शंखमूलमा ४१ वर्षीय रुपक बान्तवा राईको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौं–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
००००
लगातार २ दिन ठूलो गिरावट आएको शेयर बजारमा बुधबार सामान्य वृद्धि देखिएको छ ।
शेयर बजार परिसूचक नेप्से ३ दशमलव ८० अंकले वृद्धि भएर २७८६.४० बिन्दुमा कायम भएको छ ।
००००
नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि संसदमा हंगामा भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा भट्टराईले बोल्दै गर्दा माओवादी हिंसा नभएको भए जलविद्युत् क्षेत्रले पहिले नै फड्को मार्ने बताएका थिए ।
माओवादी आन्दोलनलाई हिंसा भनिएको भन्दै नेकपा माओवादी केन्द्रका सांसदहरूले उठेर आपत्ति जनाए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले माओवादी आन्दोलनलाई हिंसा भनिनु संविधानविपरीत भएको दाबी गरे ।
त्यसपछि दुई दलबीच वादविवाद हुँदा सभामुखलाई स्थिति सम्हाल्न हम्मेहम्मे पर्यो । पछिल्लो समय एमाले र माओवादीबीच तनाव बढ्दो छ । यसअघि समिति बैठकमै एमाले र माओवादीका सांसदहरुबीच कुलमान घिसिङलाई कारबाहीको विषयमा विवाद भएको थियो भने मंगलबार संसदमा सम्बोधन गर्दै प्रचण्डले सरकारमाथि हमला गरेका थिए ।
००००
सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रमाणित गरेका छ्न् ।
उक्त विधेयक सभामुख घिमिरेबाट बुधवार प्रमाणित गरिएको उनको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएपछि यो विधेयकलाई सभामुखले प्रमाणित गरेका हुन् ।