
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गरेका हुन् ।
खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षक भट्टलाई २ लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्य र फिजियो कुँवरलाई जनही १ लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो ।
गत साउन १७ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो ।
मन्त्रिपरिषद्को गत साउन ३१ गते बसेको बैठकले सहभागी खेलाडी, प्रशिक्षलगायतलाई कूल ४७ लाख ६० हजार पुरस्कार दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा यही भदौ २ गते सहभागी खेलाडी, प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे ।
“हाम्रा खेलाडी छोरीलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु”, उनले भने, “यो पुरस्कारमा थप सफलताको शुभकामना जोडिएको छ । खेलाडीलाई निरन्तर अभ्यास र प्रेरणाको वातावरण तथा पूर्वाधारका लागि सरकारले सक्दो प्रयत्न गर्नेछ । तपाईँहरू जहाँ जाँदा पनि जित्छौँ भन्ने उच्च मनोबलका साथ अन्तिम समयसम्म लाग्नुस् ।”
आफ्नो पदबहालीका दिन कीर्तिपुर खेल मैदानलाई ३ सय दिनभित्र स्तरोन्नति गर्ने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको कार्यान्वयन गरिने अवगत गराउँदै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
उनले दशरथ रङ्गशालामा खेल हुँदा मैदान हिलाम्मे हुनु दुःखद् भएको र उक्त रङ्गशालालाई स्तरीयबाहेक अन्य खेलमा दुरुपयोग नगराउन सरोकारवालाको ध्यानाकर्षण गराए ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले महिला भलिबल खेललाई आजको अवस्थामा ल्याउन योगदान दिनेहरूलाई धन्यवाद दिँदै सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिकरूपमा व्यवस्था हुनुपर्ने बताए ।
मन्त्रालयका सचिव सुमनराज अर्यालले सीमित स्रोत साधनबीच नेपाली खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शनप्रति आभार व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदलाई प्राथमिकता दिँदै प्रधानमन्त्री ओलीले लिनुभएको अग्रसरता प्रशंसनीय रहेको बताए ।
नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले भलिबलको विकासका लागि के गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्री ओलीको प्रतिबद्धताबमोजिम कभर्ड हल बन्ने विश्वास व्यक्त गरे ।
पुरस्कृत कप्तान शाहीले पुरस्कारबाट प्रोत्साहन मिलेको र आगामी खेलमा राम्रो प्रदर्शन गरी राष्ट्रलाई चिनाउने संकल्प गरिन् ।