
लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्नका लागि कार्यदल गठन भएको छ ।
प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसको उचित व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो ।
उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल’ गठन गरिएको जानकारी दिए।
यातायात क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने भन्दै गुनासो आएपछि मन्त्रालयले समस्या समाधानका लागि कार्यदल गठन गरेको हो । “यातायात क्षेत्रका विषयमा आम नागरिकबाट केही गुनासा आएका छन्, यसको व्यवस्थापनका लागि माग भएको छ”, मन्त्री न्यौपानेले भने, “यातायात क्षेत्रमा भएका समस्या समाधान गरी यसको उचित व्यवस्थापनका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको हो, यो कार्यदलले कसरी यातायात क्षेत्र आम नागरिकका लागि सहज बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने छ ।”
मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत, सूचना प्रविधि प्रतिष्ठानका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी चालक अनुमतिपत्र) का प्रमुख, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी)का प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रतिनिधि, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर र मन्त्रालयका यातायात शाखा प्रमुख सदस्य रहेका छन् ।