
अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् ।
विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका छन् ।
विसं २०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि सुकुम्बासीजस्तै भएको शीतगङ्गा–१२ खुम्चीकोटका स्थानीय देवेन्द्र पौडेलले बताए । उनले सयौँ वर्षदेखि चर्चेको पहिलाको जग्गाधनीपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको गुनासो गरे।
वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभएपछि कपिलवस्तुको सिमानाबाट स्थानीय जनता प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका थिए । सहज तरिकाबाट पुर्जा पाउनुपर्ने नारा लगाउँदै उनीहरू जिल्ला प्रशासनमा पुगेका थिए ।
शीतगङ्गा नगरपालिका–१२ को खुम्चीकोट, पिरापानी, खलेयाखर्क, दमारे, धौलेटाकुरा, दरबारे, टिकरी, जलुके, टर्रेलगायतका झण्डै एक सय ५० जनाले तिरो तिरेको रसिद र पुरानो जग्गाधनीपुर्जा देखाउँदा पनि नयाँ पुर्जा पाउन नसकेको पिरापानीका स्थानीय खगेश्वर गैरेले बताए ।
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५९ र २०६१ सालमा गरेको सदरमुकाम आक्रमणमा जग्गासम्बन्धी सबै कागजात जलेर नष्ट भएका थिए । कागजात नष्ट भएको अर्घाखाँची जिल्लामा विशेष नापी कार्यालय स्थापना गरेर जग्गा नापजाँचको काम सुरु भएको थियो ।
साविक २०४० सालमा एकसरो नापी भएको नक्सा र अहिले त्यस स्थानका स्थानीयले भोगचलन गरेको जग्गाको नक्सा नमिलेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताए ।
जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ (घ) अनुसार साविकको नक्सा र अहिलेको नक्सा भिडाउनुपर्छ । साविकको नक्सा र अहिलेको नक्सा नभिडेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख भण्डारीको भनाइ छ । यस्तो समस्याबारेमा विभाग र मन्त्रालयमा जानकारी पनि गराएको उनको भनाइ छ ।