काठमाडौं १४ कात्तिक– विश्व अर्थतन्त्रमा दोस्रो स्थानमा रहेपनि चीनले एचआइभी पीडितहरुका लागि खर्च गरिने ग्लोवल फण्डमा न्युन योगदान गरेको भन्दै बढाउन सरोकारवालाले माग गरेका छन् ।

संयुक्त राष्टंसघमा काम गरेर फर्केका स्वयसेवीको संस्था (रुनभान)ले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘सन् २०३० सम्ममा एचआइभी एड्सको अन्त्य’ सम्बन्धी कार्यक्रममा सरोकारवालाले चीनले ग्लोवल फण्डमा लगानी बढाउनु पर्ने बताएका हुन् ।
एमेरिकन हेल्थ फाउण्डेसन (एएचएफ)की एड्भोकेसी तथा मार्केटिङ मेनेजर मारिया कोले ग्लोवल फण्डमा चीनको सहयोग लाजमर्दो रहेको बताइन् । विश्वका शक्तिशाली देशहरु बेलायत, फ्रान्स, जर्मनी र जापानको तुलनामा चीनको योगदान न्युन रहेको उनले बताइन् । ग्लोवल फण्ड एचआइभी एड्सविरुद्ध कार्यरत ठूलो संस्था हो ।
सन् २०१६ को तथ्याङ्क अनुसार चीनमा एड्सका कारण प्रतिबर्ष २१ हजार व्यक्तिको मृत्यु हुने गरेको छ । यस्तै भारतमा २१ लाख व्यक्तिमा एचआइभी एड्सको संक्रमण रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तरगतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा तरुण पौडेलले सन् २०२० सम्ममा नेपालमा एड्स संक्रमितको संख्यालाई ६ सय भन्दा कममा झार्ने लक्ष रहेको बताए ।
नेपालमा हाल ३२ हजार ७ सय ३५ जना एचआइभी संक्रमित रहेको र एचआइभी एड्सका कारण हरेक बर्ष औषत १ हजार ७ सय ४९ जनाको मृत्यु हुने गरेको डा पौडेलले बताए ।
एचआइभी एड्स संक्रमितको संख्या न्युनिकरण गर्न सरकारले ‘फाण्ट ट्रयाक’बाट काम गर्नुपर्ने र यसका लागि ग्लोबल फण्ड लगायत संस्थाको सहयोग अपेक्षित गरिएको बताए ।
कार्यक्रममा पूर्वसांसदहरुले विदेशमा गएका कामदारलाई सचेतना जगाउनु पर्ने बताएका थिए । कार्यक्रममा रुनभानका अध्यक्ष पुण्य पौडेल र एएचएफका नेपाल प्रमुख दीपक ढुंगेलले एचआइभी एड्स नियन्त्रणका लागि विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले लगानी बढाउनु पर्ने बताएका थिए ।