
१७ माघ २०७८ मा शिलान्यास गरिएको धनगढी उप–महानगरपालिका– ४ को वडा भवनको उद्घाटन बुधवार परराष्ट्र मन्त्री आरजु राणा देउवाले गरिन् । शिलालेख अनावरण र रिबन काटेर मन्त्री देउवाले वडा कार्यालयको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा कैलाली ५ का सङ्घीय सांसद, प्रदेशका मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्य, नगरप्रमुख, उप–प्रमुख सहितको सहभागिता थियो । भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निवर्तमान वडाध्यक्षलगायत तत्कालीन जनप्रतिनिधिहरूलाई भने खबर नगरिएको आरोप लागेको छ । उद्घाटनमा नबोलाएपछि निवर्तमान वडाध्यक्ष दीपक थापाले शुक्रवार पत्रकार सम्मेलनको आयोजनागरी आक्रोश पोखे ।
वर्तमान वडाध्यक्ष बुद्धि खड्काले भवन शिलान्यासको शिलालेख नराखेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘वडा भवन कार्यक्रममा शिलान्यास शिलालेख नराखेरै उद्घाटन गरिनु निकै दुखद् हो । हामीले २०७८ सालमै २० हजार खर्च गरेर शिलालेख तयार गरेका थियौँ । तर, अहिलेका अध्यक्ष खड्काले त्यो बोर्डको बेवास्ता गर्दै भवन उद्घाटन गरे । इतिहास मेटेर मेटिँदैन, ‘थापाले भने ।
भवन उद्घाटनमा शिलान्यास बोर्ड नराखिदिएपछि निर्वतमान अध्यक्ष थापाले त्यो बोर्डसमेत पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन् । शिलालेख बोर्ड देखाउँदै थापाले भने, ‘यो बोर्ड हामीले १७ माघ २०७८ मा उद्घाटन गरेका थियौँ । भवन निर्माण हुने क्रममा थियो । त्यहाँ बोर्ड राख्ने ठाउँ थिएन । त्यसैले हामीले राख्न पाएनौँ । पछि हाम्रो कार्यकाल सकियो ।

वृद्धि खड्का वडाध्यक्षमा निर्वाचित भए । उनले उद्घाटनको बेला हामीलाई खबरसम्म गरेनन् । यदि उनीसँग राजनीतिक संस्कार हुन्थ्यो भने निवर्तमान जनप्रतिनिधि मेयर, उपमेयर र वडाध्यक्षलाई खबर गर्नुपर्थ्यो तर, त्यस्तो भएन । उद्घाटन कार्यक्रममा कम्तीमा शिलान्यास बोर्ड त राख्नुपर्थ्यो । नगरपालिकाबाट भुक्तानी सम्पन्न भइसकेको बोर्ड वडा कार्यालयमा नराखेपछि मैले यहाँ ल्याएको छु । अब मेरो होटेलमा राख्छु कम्तीमा आउने मान्छेले त हेर्छ,’ थापाले भने ।
वडा नम्बर ४ का वडाध्यक्ष वृद्धि खड्काले भने शिलान्यास बोर्डका विषयमा आफू बेखबर रहेको दाबी गरे । ‘कुन शिलान्यास बोर्ड, कहाँ छ ? तपाईले भनेपछि मैले थाह पाउँदै छु । मलाई कसैले खबरसमेत गरेको छैन । नभएको बोर्ड मैले कहाँबाट राख्ने,’ वडाध्यक्ष खड्काले भने ।
२०७४ मा भएको स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसले दीपक थापालाई उम्मेदवार बनाएपछि उनीविरुद्ध खड्काले बागी उम्मेदवारी दिएका थिए । निर्वाचनबाट भने थापा नै निर्वाचित भए । त्यो समयमा खड्का शिवपुरी सामुदायिक वनको अध्यक्ष थिए ।
वडा भवन निर्माण भएको क्षेत्र पनि सामुदायिक वनभित्रै पर्दछ । थापालाई हराउन बागी उम्मेदवारी दिई पराजित भएका खड्काले सामुदायिक वनबाट पनि असहयोग गरे ।
वडा कार्यालयको भवन निर्माणका लागि धनगढी उप–महानगरपालिकाले काम थाल्दा नेपाली सेनाले हस्तक्षेप गर्यो । वन क्षेत्रभित्र रहेकाजग्गा वर्षौंदेखि आफूले उपभोग गरिरहेको भन्दै लामो समय नेपाली सेनाले निर्माण कार्य हुन दिएन । थापाकै नेतृत्वमा सेनाबाट जग्गा प्राप्ति प्रक्रिया सम्पन्न भएर भवन निर्माणको शिलान्यास भएको थियो ।
‘त्यो बेला मैले निकै मेहनत गरें । सेनाबाट जग्गा प्राप्ति गर्नु सहज पक्कै थिएन । सेनासँग दोहोरो संवाद गर्न सक्ने अवस्था थिएन । मैले दर्जन पटक वार्तागरी जग्गा प्राप्ति गरेको थिएँ । त्योबेला वनका अध्यक्ष रहेका बुद्धि खड्काले पटक–पटक अवरोध सिर्जना गरे,’ थापाले भने ।
शिवपुरी सामुदायिक वनका अध्यक्ष रहेको समयमा खड्काले वडा कार्यालयलाई भवन निर्माणका लागि जग्गा दिन नसकिने भन्दै माइनट नै गरेका छन् ।
६ कार्तिक २०७८ मा सामुदायिक वनले माइनटको प्रस्ताव नम्बर ३ मा वडा कुनै पनि संस्था र सरकारी निकायलाई जग्गा दिन सकिने विधान र कार्य योजना नभएकाले जग्गा उपलब्ध गराउन नसकिने भन्दै निर्णय गरिएको छ । वनको अवरोधबीच पनि थापाको नेतृत्वमा वडा नम्बर ४ को भवन निर्माण भयो ।
२०७४को निर्वाचनमा थापा विरुद्ध बागी उम्मेदवार बनेका खड्कालाई नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ५ वर्षका लागि कार्यवाही गर्यो । २०७९ को निर्वाचनमा अन्तिम समयमा उनै खड्कालाई टिकट दिएपछि निवर्तमान वडाध्यक्ष दीपक थापासहित ५७ जनाले पार्टीबाट राजीनामा दिए । तर, उनीहरूको राजीनामा भने हालसम्म स्वीकृत भएको छैन ।
थापा वडाध्यक्ष रहेको बेला शिवपुरी सामुदायिक वनका अध्यक्ष रहेका खड्का अहिले वडाध्यक्ष छन् । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाबाट धूमधामका साथ वडा भवनको उद्घाटन गराएका खड्काले निर्वतमान जनप्रतिनिधीहरूको नाम रहेको शिलान्यास शिलालेख भने राखेका छैनन् । वनको अध्यक्ष हुँदा जग्गा दिन नसकिने भन्दै निर्णय नै गरेका खड्काले वडाध्यक्ष हुँदा सोही क्षेत्रमा निर्माण भएको भवनको उद्घाटन कसरी गरे भन्दै उनीमाथि नैतिक प्रश्न समेत उठेको छ ।