
काठमाडौं, १४ कात्तिक — स्पेनमा रहेको क्याटालोनियाका सत्ताच्युत राष्ट्रपति र उनको मन्त्रिमण्डलका धेरै सदस्यहरू बेल्जियमतर्फ भागेका छन् । स्पेनका महान्यायाधिवक्ताले उनीहरूका विरुद्ध विद्रोह, देशद्रोह र सार्वजनिक सम्पत्ति हिनामिना लगायतका मुद्दा चलाउने भएपछि उनीहरू पलायन भएका हुन् ।

स्पेनबाट छुट्टिएर बेग्लै क्याटालोनिया देश बनाउने निर्णय क्याटालोनियाका राष्ट्रपति कार्लेस पुइग्देमोन्त र उनको सरकारले गरेपछि स्पेनले उनीहरूमाथि मुद्दा चलाउने निर्णय गरेको हो । उनीहरू मार्सेसम्म गाडी चढेर गएपछि ब्रसेल्स जाने प्लेन चढेका थिए ।
पुइग्देमोन्त बेल्जियममा भएको कुरा सोमवार राति पुष्टि भएको थियो । उनले बेल्जियममा शरण खोजेको बताइएपनि यसको सुनिश्चितता भने भएको छैन ।
क्याटालानहरूले निर्वासनमै सरकार बनाउने उद्देश्य लिएको पनि अनुमान गरिएको छ ।
स्पेनका प्रधानमन्त्री मारिआनो राजोएले अघिल्लो शुक्रवार अभूतपूर्व कदम चाल्दै संविधानको धारा १५५ प्रयोग गर्दै पुइग्देमोन्त र उनको सरकारलाई बर्खास्त गरी क्याटालोनियामा प्रत्यक्ष शासनको निर्णय गरेका थिए ।
क्याटालोनियाको क्षेत्रीय संसद्ले स्वतन्त्रता घोषणा गरेपछि प्रधानमन्त्री राजोएले यस्तो कदम चालेका थिए ।
क्याटालोनियाको निजामती सेवा, प्रहरी र अर्थमाथि नियन्त्रण कायम गरेपछि राजोएले त्यही धारा प्रयोग गरेर आगामी २१ डिसेम्बरमा त्यहाँ निर्वाचन गर्ने घोषणा समेत गरेका छन् ।
एजेन्सी