०३ असार २०८३, बुधबार

काभ्रेपलाञ्चोकमा निर्वाचन परिचालन कमिटी गठन

कात्तिक २०, २०७४
काभ्रेपलाञ्चोकमा निर्वाचन परिचालन कमिटी गठन


बनेपा, १४ कात्तिक - प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा वाम गठवन्धनले आज पार्टी एकता संयोजन समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गठवन्धनले संयुक्त पत्रकार सम्मेलन गर्दै बुधबार बेलुकासम्म उम्मेदवारको नामावली पनि सार्वजनिक हुने जानकारी दिएको छ ।

पार्टी एकता संयोजन समितिमा एमालेका पूर्वअध्यक्ष गोकुल बास्कोटा, पूर्वसांसद रामहरि सुवेदी, माओवादी केन्द्रका सह–इञ्चार्जद्वय दीनानाथ गौतम र गंगाबहादुर दोङ, माओवादी पार्टी संयोजक रुकु चौलागाईं, एमाले जिल्ला कमिटीका अध्यक्ष टोकबहादुर वाइवा र सचिव नारायण पाण्डेसहितको सात सदस्यीय रहेको छ ।

त्यस्तै निर्वाचन परिचालन कमिटीमा एमालेका जिल्ला अध्यक्ष टोकबहादुर वाइवा, माओवादी केन्द्रका पार्टी संयोजक रुकु चौलागार्इं, निर्वतमान सांसद र दुवै पार्टीका जिल्ला सदस्यहरु रहेका छन् ।

गठवन्धनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र परिचालन कमिटी, प्रदेश सभा निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ भने गाउँ तथा नगरपालिकास्तरीय निर्वाचन परिचालन कमिटी पनि गठन भएको जनाएको छ ।

गठबन्धनले मनोनयन लगत्तै १८ गतेदेखि २२ गतेसम्म गाउँ गाउँमा विभिन्न चुनाव लक्षित कार्यक्रम गर्ने उल्लेख गर्दै सबै तह र निकायमा पनि निर्वाचन परिचालन कमिटी गठन गर्ने जनाएको छ ।

सो अवसरमा एमालेका पूर्वअध्यक्ष गोकुल बास्कोटाले विगतका तीक्ततालाई मेटाउँदै त्यसले वामपन्थी आन्दोलनमा भएको क्षतिलाई महसुस गर्ने गरी चुनावी प्रचारलाई तीव्र बनाइने बताए ।

माओवादी केन्द्रका सह–इञ्चार्ज दीनानाथ गौतमले एकताले नयाँ विचारको जन्म गराएको तर्क गर्दै एकता अहिलको आवश्यकता भएको बताए ।

त्यसअघि दुवै पार्टीका विद्यार्थी संगठन, मजदुर संगठन, महिला सङ्घ, संगठन, शिक्षक संगठन लगायतका भ्रातृ संस्थाले गठवन्धनको पक्षमा जनमत बनाउन चुनाव लक्षित कार्यक्रम अघि बढाइने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्