तत्कालीन जिल्ला न्यायाधीश परशुराम भट्टराईले हत्या मुद्दामा सफाइ दिएका प्रतिवादीलाई उच्च अदालत जनकपुरले जन्मकैदको सजाय सुनाएको छ ।
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश गीताप्रसाद तिम्सिनाको संयुक्त इजलासले भदौ १२ गते ज्यान मुद्दाका मुख्य प्रतिवादी पंकज चौधरी भन्ने दामोदर चौधरीलाई जन्मकैदको सजाय सुनाएको हो ।
चौधरीलाई जन्मकैदको सजाय गर्नुका साथै उनीबाट पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन तथा २ हजार ८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउने फैसलामा उल्लेख रहेको शाखा अधिकृत विश्वराज कुइँकेलले जनाएका छन् ।
त्यसैगरी, चौधरीलाई हातहतियार तथा खरखजना मुद्दामा पनि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
चौधरीले २०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पेट्रोलपम्प सञ्चालक मनोज साहलाई गोली प्रहार गरी हत्या गरेका थिए ।
सोही मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश भट्टराईले २०७९ असार २१ मा सफाइ दिएका थिए ।
लोकान्तरले समाचार प्रकाशित गरेपछि न्यायाधीश भट्टराईलाई तत्काल सर्वोच्च अदालतमा तानिएको थियो ।
सर्वोच्च तानिएको २१ महिनापछि भट्टराईले राजीनामा दिएका थिए ।
पढ्नुहोस्, यो पनि :
लोकान्तर समाचार प्रभाव– हत्या आरोपीलाई सफाइ दिने न्यायाधीश भट्टराई सर्वोच्चमा तानिए
EXCLUSIVE : विवादास्पद फैसला– हतियारसहित रंगेहात पक्राउ परेका हत्या आरोपीलाई सफाइ !