
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले एमाले प्रदेश सांसद रेखा शर्माबारे लेखेको विवादित स्टाटस हटाएका छन् ।
शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै बालेनले आइतबार फेसबुकमा स्टाटस लेखेका थिए । आज भने उक्त स्टाटस उनको फेसबुकबाट हटाइएको छ ।
बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्टाटस हटेको छैन ।
उनले काठमाडौं महानगरले समात्नभन्दा पनि सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको जिकिर गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीलाई नै सम्बोधन गरेर हिंसा गर्ने सांसदलाई समाउने कि नसमाउने भनेर बालेनले प्रश्न गरेका थिए ।
सांसद शर्माले आफू दाङ बस्ने गरेको र ती बालिका छोरीसँग काठमाडौंमा बस्ने गरेको बताउँदै आएकी छिन् । महानगरले घरेलु कामदारको रूपमा शोषण भएको भन्दै ती बालिकालाई उद्दार गरेको बताउँदै आएको छ ।
आफूलेसँगै काठमाडौंमा राखेर पढाएको भन्दै दाङ भएको बेलामा महानगरले कसरी उद्धार गर्यो यसमा आफूलाई कुनै जानकारी नभएको बताउँदै आएकी छिन् ।
आफू बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत नगएको पनि उनले बताएकी छिन् ।
