०९ असार २०८३, मंगलबार

वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न प्रचण्डसँग आग्रह

भदौ १८, २०८१
काठमाडौं
वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न प्रचण्डसँग आग्रह

महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानबिनका लागि सहयोग गरिदिन पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरूले आग्रह गरेका छन् । 

नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताहरूले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन माग गरेका हुन् । 

वडाध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका-१२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो । घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटना नभई हत्या भएको हुनसक्ने भन्दै ज्ञापनपत्रमा अनुसन्धानको माग गरिएको छ ।

भदौ ८ गते साँझ केही शंकास्पद व्यक्तिहरूले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएजस्तो नदेखिएको, पोष्टमार्टम रिपोर्टबाट टाउको र छातिमा चोट देखिएको, टाउको र छातीमा वजनदार वस्तुले प्रहार भएको पाइएको, मोटरसाइकलको हेल्टेमटमा केही क्षति नभएको बरु हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा राखिएको आदि कारणले दुर्घटना नभई हत्या भएको हुनसक्ने ज्ञापनपत्रमा उल्लेख छ ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षको मृत्यु र तराईमा भैरहेका हत्या हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्