०८ साउन २०८३, शुक्रबार
पुरानो दुस्मनी

अमेरिका-भेनेजुएला तनाव: राष्ट्रपतिको विमान जफत, मदुरोलाई समाते १५ मिलियन इनाम

भदौ १८, २०८१
काठमाडौं
अमेरिका-भेनेजुएला तनाव: राष्ट्रपतिको विमान जफत, मदुरोलाई समाते १५ मिलियन इनाम
France-Presse Photo via globalnation

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो चढ्ने विमान जफत गरेको छ । डोमिनिकन गणराज्यमा रहेको मदुरोको विमान अमेरिकी प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा जफत गरिएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।  

अवैधरूपमा किनिएको भन्दै अमेरिकी अधिकारीहरूले डोमिनिकन गणराज्यबाट जफत गरिएको उक्त विमान सोमबार अमेरिकाको फ्लोरिडा लिएर गएका छन् ।

लामो समयदेखि चिसिएको अमेरिका र भेनेजुएलाबीचको सम्बन्धलाई यस घटनाले थप तनावपूर्ण बनाएको छ । अमेरिकाले भेनेजुएला सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै जाँच अनुसन्धान गरिरहेको दाबी गर्दै आएको छ । सोही दाबीबीच डोमिनिकन गणराज्यमा राष्ट्रपति मदुरोको विमान जफत गरिएको हो ।

विमान जफत गरेपछि अमेरिकी अधिकारीहरूले भ्रष्टाचार गरेको रकमले किनिएको दाबी गरेका थिए । ती अधिकारीको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, 'विमान जफत गरिएको सन्देश निकै माथिसम्म पुगेको छ । राज्य प्रमुखको विमान जफत गर्नु आपराधिक एवं कहिल्यै नसुनिएको घटना हो । कोही पनि कानून र अमेरिकी प्रतिबन्धको पहुँचभन्दा माथि छैन ।'

उक्त विमानलाई भेनेजुएलाको 'एयर फोर्स वन'सँग तुलना गरिएको छ । यसलाई मदुरोले आफ्नो विदेश भ्रमणमा प्रयोग गर्दै आएका थिए ।

डोमिनिकन सरकारले भने सोमबार जफत गरिएको विमान भेनेजुएला सरकारको नाममा दर्ता नभएर कुनै एक व्यक्तिको नाममा दर्ता भएको दाबी गरेको छ ।

अमेरिकाले उक्त विमान रोक्का राखेर त्यसमार्फत हुने तस्करी र मुद्रा शुद्धीकरणमा अनुसन्धानका लागि सहयोग गर्न अनुरोध गरेसँगै डोमिनिकन सरकारले गत मेमा राष्ट्रिय अदालतमार्फत विमान रोक्का राख्न आदेश दिएको विदेशमन्त्री रोबर्टो अल्भारोजले बताएका छन् ।

अमेरिकी सरकारी वकिल कार्यालयका प्रमुख मेरिक गारल्याण्डले एक वक्तव्यमा भनेका छन्, 'अमेरिकाको न्याय विभागले एउटा विमान जफत गरेको छ, जुन १३ मिलियन डलरमा एक अफासोर कम्पनीमार्फत अवैध रूपमा खरिद गरिएको थियो । उक्त विमानलाई निकोलस मदुरो र उनका सहयोगीले अमेरिकाबाहिर तस्करीका लागि प्रयोग गरिरहेका थिए ।'

अमेरिकी न्याय विभागको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, 'उक्त डासल्ट फाल्कन ९०० इएक्स विमान फ्लोरिडाको एक कम्पनीबाट खरिद गरेर अप्रिल २०२३ मा अमेरिकाबाट क्यारिबियन हुँदै भेनेजुएलामा अवैधरूपमा निर्यात गरिएको थियो । यसलाई मदुरोको अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गरिन्थ्यो र प्रायः भेनेजुएलाको सैन्य बेसमा आउने/जाने गर्थ्यो ।'

उक्त विमानको अन्तिम उडान गत मार्चमा भेनेजुएलाको राजधानी काराकस र डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिंगोमा भएको थियो ।

अमेरिकी अधिकारीले विमान जफत गरेपछि भेनेजुएला रुष्ट भएको छ ।

भेनेजुएलाको सरकारले एक वक्तव्य जारी गर्दै भनेको छ, 'अमेरिकाले समुद्री डकैतले भन्दा पनि नराम्रोसँग विमान जफत गरेको छ । यो भेनेजुएलामाथिको अमेरिकी आक्रमण हो ।'

विज्ञप्तिमा थप भनिएको छ, 'फेरि एकपटक अमेरिकाका अधिकारीहरूले आपराधिक अभ्यास गरेका छन् । राष्ट्रपतिद्वारा प्रयोग गरिएको विमानलाई उनीहरूले अवैधरूपमा जफत गरेका छन् ।'

वर्षौंसम्म अमेरिकी अधिकारीहरूले भेनेजुएलाको सरकारलाई प्राप्त हुने अर्बौं डलरको प्रवाहलाई अवरोध गर्न प्रयास गरिरहेका छन् ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसनले भेनेजुएलातर्फ जाने दर्जनौं विलासी गाडी र अन्य सामान पटक-पटक जफत गर्ने गरेको छ ।

सीएनएनसँगको कुराकानीमा होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसनका विशेष एजेन्ट एन्थनी सालिस्बरीले भनेका छन्, 'विमान अमेरिकी प्रतिबन्ध उल्लङ्घनको आरोपमा जफत गरिएको थियो र हामी अझै यस विमानसँग सम्बन्धित अन्य आपराधिक मामिलाहरूको अनुसन्धान गरिरहेका छौं ।'

उक्त विमान मर्मतका क्रममा रहेका बेला अमेरिकी अधिकारीहरूले जफत गरेको डोमिनिकका एक उच्च अधिकारीको भनाइ छ । उनले उक्त विमान मदुरोको निजी विमान भएको डोमिनिकालाई थाहा नभएको बताए ।

'जफतपछि मात्र हामीले यो विमान मदुरोले प्रयोग गर्ने गरेका रहेछन् भन्ने थाहा पायौं,' उनले भने ।

अमेरिकाले हालै भेनेजुएलाको सरकारलाई राष्ट्रपतीय चुनावको तथ्यांक तत्काल सार्वजनिक गर्न दबाब दिएको थियो । मदुरोले चुनावमा धाँधली गरेर जितेको अमेरिकाको दाबी रहँदै आएको छ ।

अमेरिकाको आर्थिक प्रतिबन्धका कारण भेनेजुएला आर्थिक रूपमा धरासायी हुँदै गइरहेको छ । अमेरिकाले आफ्नो देशमा भेनेजुएलाको अर्बौं डलर रोक्का राखिदिएको छ भने आयात-निर्यात ठप्प पारेको छ ।

२०२० को मार्चमा अमेरिकी न्याय विभागले राष्ट्रपति मदुरो र १४ जना वर्तमान एवं पूर्व अधिकारीहरूलाई लागूऔषध तस्करी र भ्रष्टाचारको आरोप लगाएको थियो ।

अमेरिकी राज्य विभागको अन्तर्राष्ट्रिय लागूऔषध र कानून प्रवर्तन मामिला ब्यूरोले मदुरोलाई समातेर अमेरिकालाई बुझाउने व्यक्तिलाई १५ मिलियन डलरसम्मको इनाम घोषणा गरेको छ ।

सन् २०१७ मा मदुरोकी पत्नी सिलिया फ्लोरेसका दुई भतिजलाई न्यूयोर्क सिटीको संघीय अदालतले १८ वर्षको कारावास सजाय सुनाएको थियो ।

उनीहरूले निजी जेटमा ८ सय किलोग्राम कोकिन अमेरिकातर्फ तस्करी गर्ने प्रयास गरेको अमेरिकाको आरोप थियो । दुवैलाई २०२२ मा कैदी आदानप्रदानका क्रममा रिहा गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्