
सांसद सुमित्रा बीसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गका दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
राष्ट्रियसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली राजमार्गको मर्मत सम्भारमा सरकारले विशेष चासो देखाओस् भन्ने माग गरिन् । उनले सडक निर्माणका क्रममा प्रयोग हुने डोजरका कारण बाढीपहिरोमा वृद्धि भएको पाइएकाले त्यसलाई नियन्त्रण गर्न सुझाव दिइन् ।
पहिरो नजाने गरी सडक पूर्वाधार निर्माण गर्न आग्रह गर्दै सांसद बीसीले भनिन्, 'कर्णाली राजमार्गकाे ‘मृत्यु राजमार्ग’का रुपमा परिचय बनिरहेकाे छ । यसर्थ तत्काल स्थानीयको माग सम्बोधन गर्नुपर्छ ।'
पहिरोका कारण कर्णाली राजमार्ग पाँच दिनसम्म अवरुद्ध बनेको थियो । आइतवार मात्र सडक खुलेको हो ।
सांसद सुरेश आलेमगरले मुलुकमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउनुपर्ने बताए । व्यवस्था बदलिए पनि नेपाली नागरिकको अवस्थामा कुनै पनि सुधार नभएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
संविधान संशोधनको विषयमा पछिल्ला दिनमा चर्को बहस भइरहेको उल्लेख गर्दै उनले समावेशी समानुपातिक प्रतिनिधित्वलाई थप सबल बनाउनैपर्ने भएकाले त्यसविरुद्ध जाने छुट कोही कसैलाई नभएको बताए ।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मुलुकको राजनीतिक परिवर्तनमा शान्तिपूर्ण सङ्घर्षको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपाली कांग्रेसले हरेक पटकको राजनीतिक परिवर्तनलाई नेतृत्व र संस्थागत गरेको स्पष्ट पारे । राजनीतिक स्थिरताका लागि पछिल्लो पटक कांग्रेस र नेकपा (एमाले)का बीचमा सहमति र सहकार्य भएको उनको जिकिर थियो ।
सांसद सावित्री मल्लले देशव्यापी रुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको उल्लेख गरिन् । तीनै तहमा सरकार क्रियाशील भए पनि सडक निर्माणमा लापरबाही उस्तै रहेको भन्दै समस्या समाधानमा ध्यान दिनुपर्ने उनको कथन छ ।
सांसद वामदेव गौतमले समस्याग्रस्त सडक सुधारका लागि आफूले पटक–पटक सदनमार्फत ध्यानाकर्षण गराए पनि कुनै पनि सुनुवाइ नभएकामा गुनासो गरे । सदनमा सांसदहरूले राखेको विषयका बारेमा सरकारले कुनै पनि प्रतिक्रिया नजनाएको र कुनै पनि जानकारी नगराएकामा आपत्ति प्रकट गरे ।
सांसद गौतमले राजमार्ग प्रहरी निर्माण गरी सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल हुनुपर्ने बताए । सांसद गोपालकुमार बस्नेतले भ्रष्टाचार नियन्त्रणका लागि कठोर कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गरे । सांसद घनश्याम रिजालले ग्रामीण क्षेत्रमा युवा जनशक्तिको अभाव रहेको तथ्य पेस गर्दै आम रुपमा आशा जगाउनका लागि निर्यात बढाएर देशभित्र रोजगारीको अवसरमा वृद्धि गर्नु जरुरी रहेको बताए ।
सांसद उर्मिला अर्यालले निर्माण व्यवसायीको बक्यौता तत्काल भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले निर्माण व्यवसायीको समस्या समाधानका लागि पूर्ववर्ती सरकारले गठन गरेको कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरिन् । उनले निर्माण सम्पन्न हुन नसकेका देशभित्रका पुल तथा विकास निर्माणका बारेमा सत्य तथ्य पहिचान गरी समस्या समाधान गर्न दलीय एकतामा जोड दिइन् ।
सांसद रुकमिणी कोइरालाले महिला तथा बालबालिकाको स्वास्थ्य सुधारका लागि विशेष चासोका साथ सरकारले विशेष पहल गर्नुपर्ने र कार्यान्वयनमुखी कार्यक्रम तय गर्नुपर्ने बताइन् ।