
भारतले फुट्ने जोखिम भएका करिब दुई सय हिमतालमा उच्च–प्रविधियुक्त चेतावनी प्रणाली स्थापना गरेको छ । जलवायु परिवर्तनका कारण हिमतालहरू फुट्ने घातक खतरा रहेका बेला भारतले उच्च–प्रविधियुक्त चेतावनी प्रणाली स्थापना गरेको हो ।
भारतका हिमालयमा कम्तीमा सात हजार पाँच सय हिमताल छन् । तीमध्ये धेरैले खतरनाक बाढीको जोखिम निम्त्याउन सक्छन् ।
भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) को टोलीहरूले तीन वर्षको मिसनमा सबैभन्दा खतरनाक मानिने एक सय ९० उच्च उचाइका तालहरूलाई लक्षित गरिरहेका छन् ।
एउटा अभियानले हाल उत्तरपूर्वी राज्य सिक्किममा छ वटा उच्च जोखिमयुक्त ताल वरपर प्रारम्भिक चेतावनी प्रणाली स्थापनाको काम गरिरहेको छ । यहाँ सन् २०२३ मा हिमताल फुटेर आएको बाढीबाट कम्तीमा ७७ जनाको मृत्यु भएको थियो ।
टोलीमा सेना र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनलगायत धेरै सरकारी एजेन्सीका विशेषज्ञ, भूगर्भविद्, जलवैज्ञानिक, कम्प्युटर इन्जिनियर र मौसम विशेषज्ञ संलग्न छन् ।
मिसनले भारतमा हिमाली क्षेत्रहरू, उत्तरमा काश्मिर र लद्दाखदेखि उत्तरपूर्वमा अरुणाचल प्रदेशसम्म, चीनको सीमासँग जोडिएका धेरै क्षेत्रलाई समेट्नेछ ।
तापक्रमलाई पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न सकिए पनि यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीका दुई लाख १५ हजार हिमनदीमध्ये आधा पग्लिने अनुमान गरिएको छ ।
उपग्रह तथ्याङ्कमा आधारित सन् २०२० को अध्ययनअनुसार ३० वर्षमा हिमतालहरूको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ ।
नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययनमा एक करोड ५० लाख मानिस हिमतालको ५० किलोमिटरभित्र र दरारबाट सम्भावित बाढीको एक किलोमिटरभित्र बस्ने गरेको उल्लेख छ ।
भारत, पाकिस्तान, चीन र नेपालसहित १२ मुलुकमा ‘हाइ माउन्टेन एसिया’ क्षेत्रमा खतरा सबैभन्दा धेरै थियो । विश्वका अन्य क्षेत्रको तुलनामा चेतावनीको समय अझ छोटो बनाउँदै यस क्षेत्रमा धेरै मानिस हिमतालनजिकै बस्छन् ।
गत महिना छिमेकी मुलुक नेपालको सगरमाथा क्षेत्रमा एउटा हिमताल फुट्दा थामे गाउँमा चिसो पानीको बाढी आएको थियो ।