२५ असार २०८३, बिहीबार

मौसममा सुधार आएसँगै तीन महिनाभन्दा बढी समयदेखि बन्द सुकेटार विमानस्थलमा पुनः उडान

भदौ १९, २०८१
ताप्लेजुङ
मौसममा सुधार आएसँगै तीन महिनाभन्दा बढी समयदेखि बन्द सुकेटार विमानस्थलमा पुनः उडान

प्रतिकूल मौसमका कारण तीन महिनाभन्दा बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान शुरुवात भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान शुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । 'मौसममा सुधार आएसँगै उडान गर्न सम्भव भएको हो, उनले भने । 

निगमले केही साताअघि नै उडान तालिका तोकेको भए पनि प्रतिकूल मौसमले गर्दा उडान हुनसकेको थिएन । बुधबारको उडानले मौसम पूर्ण रूपमा सुधार नभए पनि यात्रा सम्भव भएको देखाएको छ । निगमले हाललाई हप्तामा एक दिनमात्र उडान तालिका राखेको छ, यो तालिका आगामी भदौ ३० गतेसम्म बुधबारका दिन सञ्चालन हुनेछ । मौसम खुला रहेमा र यात्रुको चाप बढेमा निगमले उडान तालिका थप्ने तयारी गरिरहेको छ ।

बर्खायाम शुरु भएपछि जेठ ११ गतेदेखि सुकेटारमा उडान बन्द भएको थियो । तीन महिना लामो अवरोधपछि शुरु भएको उडानले स्थानीयमा केही आशा जागृत गरेको छ । यद्यपि, पहिलो उडानमा काठमाडौं–ताप्लेजुङ दुवैतर्फ विमानको पूर्ण क्षमतामा यात्रु थिएनन् । ताप्लेजुङको यात्रु सङ्ख्यालाई बढावा दिन आवश्यक प्रचार–प्रसार र नियमित उडानको आवश्यकता देखिएको छ । आगामी उडानका लागि यात्रीले सम्पर्क गर्न थालेको बताइएको छ ।

उडान पुनः सञ्चालन भएसँगै दसैँ, तिहारजस्ता चाडपर्व र पर्यटकीय मौसमको नजिकिँदो समयमा यात्रुलाई सुविधा हुने अपेक्षा गरिएको छ । ताप्लेजुङ आउने पर्यटक र सर्वसाधारण यात्रीको सुविधाका लागि निगमले नियमित उडानलाई सुनिश्चित गर्नुपर्ने दबाब छ । जिल्लाका बासिन्दाले पर्यटकीय मौसममा विमान सेवा नियमित गर्न आग्रह गरेका छन् । सुकेटार विमानस्थलमा हाल निगमको ट्वीनअटर जहाजले मात्र उडान गर्दै आएको छ । ताप्लेजुङ–काठमाडौं उडानका लागि हालको भाडादर प्रतिव्यक्ति रु  नौ हजार चार सय ७६ रहेको निगमले जनाएको छ । -रासस
 

salt training

कमेन्ट गर्नुहोस्