×

सेटिङमा कर्मचारी भर्ती

भक्तपुर अस्पतालमा झेल– ११ सय जनासँग आवेदन शुल्क लिएर आफ्नै कर्मचारी छनोट

काठमाडाैं | भदौ १९, २०८१

बागमतीप्रदेश सरकार मातहत रहेको भक्तपुर अस्पतालमा विभिन्न ४९ पदका लागि करार सेवामा खुला विज्ञापन गरिए पनि सेटिङ गरी अस्पतालमा पहिलेदेखि कार्यरत कर्मचारीलाई छनोट गरिएको छ ।

Laxmi Bank

विभिन्न विधाका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, हेल्थ असिस्टेन्टदेखि स्टाफ नर्ससम्म गरी कुल ४९ पदका लागि अस्पतालले २०८१ साउन ३ गते भ्याकेन्सी आह्वान गरेको थियो ।


Advertisment

१ हजार १५३ जनाले आवेदन दिएर अन्तर्वार्ता दिए पनि अस्पतालले भने पहिलेदेखि नै कार्यरत रहेकालाई छनोट गरेको हो । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र भक्तपुर अस्पतालको सेटिङमा कर्मचारी छनोट गरेको पाइएको छ ।


Advertisment

चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम करार सेवामा स्वास्थ्यकर्मीहरू पदपूर्तिका लागि १५ दिने सूचना आह्वान गरिएको थियो । अन्तर्वार्तामार्फत पदपूर्ति गरिएको भएपनि आफ्नै कर्मचारीलाई छनौट गरेको पाइएको हो ।

उक्त अस्पतालबाहिरका थुप्रै स्वास्थ्यकर्मी आवेदन दिएर अन्तर्वार्तामा सहभागी भएका थिए । तर, उनीहरूसँग आवेदन शुल्क लिएर पूर्वनिर्धारित व्यक्तिहरूलाई नै छनोट गरियो ।

भदौ २ गते अस्पतालले नतिजा प्रकाशन गरेको थियो । अन्तर्वार्तामा प्राप्त अंक, उम्मेदवारहरूको शैक्षिक योग्यता, तालिम र कार्य अनुभवको अंक समेत जोड्दा प्राप्त हुन आएको योग्यताक्रमको आधारमा नतिजा प्रकाशन गरिएको प्रकाशित सूचनामा उल्लेख छ । तर, औपचारिकताका लागि मात्र अन्तर्वार्ता लिइएको पुष्टि भएको छ ।

नवौं तहका लागि २ हजार रुपैयाँ, आठौं र सातौं तहका लागि १२ सय रुपैयाँ, पाँचौं तहका लागि ७ सय रुपैयाँ र चौथो तहका लागि ५ सय रुपैयाँ प्रतिआवेदक आवेदन दस्तुर लिइएको थियो । तर, छनोट निष्पक्ष हुन सकेन ।

यी पदमा भयो चलखेल

नवौं तहको कन्सल्टेन्ट पेडियाट्रिसियनमा एकजनाका लागि विज्ञापन गरिएको थियो ।

दुईजना आवेदक रहेकोमा रुद्रप्रकाश हाडालाई छनोट गरियो । अर्की उम्मेदवार विनिता पौडेललाई वैकल्पिकमा राखिएको थियो । सफल हुने हाडा र वैकल्पिकमा पर्ने पौडेल दुवैजना काठमाडौंका हुन् ।

'हाडा डाक्टरसाब पहिलेदेखि नै त्यही अस्पतालमा करारमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई पास गरियो तर म ग्रान्डी र बालमैत्री अस्पतालमा काम गर्ने भएकाले मलाई वैकल्पिकमा राखियो,' वैकल्पिकमा परेकी डा. पौडेलले लोकान्तरसँग भनिन्,'पहिलेदेखि नै करारमा काम गरेका डाक्टरलाई राख्नु थियो भने विज्ञापन किन गरियो भन्ने बुझ्न सकेकी छैन । आवेदन शुल्क २ हजार लिएका थिए, त्यो खेर गयो ।'

त्यसैगरी कन्सल्टेन्ट अब्स/गाइनोक्लोजिस्ट पदका लागि एकजना माग भएकोमा दुईजनाले आवेदन दिएका थिए । श्रीसिया पोखरेललाई छनोट गरिएको छ भने प्रतिमा श्रेष्ठलाई वैकल्पिकमा राखिएको छ ।

सफल हुने पोखरेल र वैकल्पिकमा पर्ने श्रेष्ठ दुवै भक्तपुरका हुन् । छनोट भएकी डा. पोखरेलले भने विगत २ वर्षदेखि भक्तपुर अस्पतालमा काम गर्दै आएको लोकान्तरलाई बताइन् ।

असफल भएकी श्रेष्ठको अन्तर्वार्तासम्म एनएमसी नम्बर आइसकेको थिएन ।

'मेरो एनएमसी आइनसकेकाले अन्तर्वार्ता दिन पाइँदैन भनिएको थियो । तर, पछि कल गरेर अन्तर्वार्ता दिन आउनुस् भनेर बोलाए,' श्रेष्ठले लोकान्तरसँग भनिन्, 'पछि रिजल्ट के आयो, त्यो पनि मलाई थाहा छैन । मलाई उनीहरूले फोन पनि गरेका छैनन् ।'

त्यसैगरी, कन्सल्टेन्ट जनरल सर्जनका लागि एकजना माग भएकोमा ३ जनाले आवेदन दिएका थिए ।

गणेशकुमार विष्टलाई छनोट गर्दा योगेन्द्र देवकोटा र राजन शर्मा पौडेललाई वैकल्पिकमा राखिएको छ । सफल हुने विष्ट दैलेखका हुन् भने वैकल्पिकमा परेका दुवैजना काठमाडौंका हुन् ।

विष्टले विगत दुई वर्षदेखि भक्तपुर अस्पतालमा काम गर्दै आएका छन् ।

'म विगत दुई वर्षदेखि यहाँ (भक्तपुर अस्पतालमा) कार्यरत छु,' विष्टले लोकान्तरसँग भने, ' म जनरल सर्जन भएको एक वर्ष मात्र भयो । एक वर्ष मेडिकल अधिकृतको रूपमा काम गरेको थिएँ । अहिले एक वर्षदेखि सर्जनको रूपमा काम गर्दैआएको छु ।'

त्यसैगरी एकजना कन्सल्टेन्ट रेडियोलोजिस्टको माग भएकोमा प्रकाश बन्जाडे मात्र आवेदक भएकाले  उनी स्वतः उत्तीर्ण भएका थिए । बन्जाडे काठमाडौंका हुन् ।

एकजना कन्सल्टेन्ट प्याथोलोजिस्टको माग भएकोमा ५ जनाले अन्तर्वार्ता दिएका थिए । निरन्जन कार्कीलाई छनोट गरिएकोमा दिप्ती श्रेष्ठ, सन्दीपा कुँवर र अनुपा खनाललाई वैकल्पिकमा राखिएको छ । कार्की मोरङका हुन् भने वैकल्पिकमा परेका दुईजना काठमाडौंका र एकजना रुपन्देहीका हुन् ।

त्यसैगरी, १ जना कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट माग भएकोमा उज्ज्वला श्रेष्ठ मात्र आवेदक भएकाले उनी नै छनोट भइन् । उनी ललितपुरकी हुन् । एकजना कन्सल्टेन्ट साइक्याट्रिस्ट माग भएकोमा २ जनाले अन्तर्वार्ता दिएका थिए । दुर्गा थापा उत्तीर्ण भए भने विनोद श्रेष्ठ वैकल्पिकमा परे । सफल हुने थापा र वैकल्पिकमा पर्ने श्रेष्ठ दुवै भक्तपुरका हुन् ।

एक कन्सल्टेन्ट न्युरोलोजिस्ट माग भएकोमा विनित ढकाल मात्र आवेदन दिएर अन्तर्वार्तामा सहभागी भएकाले उनी स्वतः छनोट भए । उनी पनि भक्तपुरकै बासिन्दा हुन् ।

त्यसैगरी, एक कन्सल्टेन्ट चेस्ट फिजिसियन माग भएकोमा २ जनाले आवेदन दिए पनि राजकिशोर यादव मात्र अन्तर्वार्तामा सहभागी भएकाले उनी स्वतः छनोट भए । यादव धनुषाका हुन् ।

कन्सल्टेन्ट कार्डियोलोजिस्टका लागि एकजना माग भएकोमा कसैले आवेदन दिएनन् ।

५ जना मेडिकल आधिकृत माग भएकोमा १५४ जनाले आवेदन दिएका थिए भने १३३ जना अन्तर्वार्तामा सहभागी भएका थिए ।  सृजना अवाल, सञ्जीव थापा, विजय पन्त, सुसन थापा र विवेक भण्डारी छनोट भएका थिए । क्षितिज कायस्थ, सिनेट पोखरेल, जयश्वर थापा, राजेश गोसाई, प्रकृति कार्की, मनिता लामा तामाङ, अमित भुसाल, प्रतीत रिजाल, सागर पहारी र कमिसा ढकाल गरी १० जना वैकल्पिकमा परेका छन् ।

सफल भएका पाँच जनामध्ये दुईजना भक्तपुरका र १/१ जना काठमाडौं, ललितपुर र सुर्खेतका हुन् ।

अन्तर्वार्ताबाट छनोट भएकी सिर्जना अवालले आफू विगत डेढ वर्षदेखि भक्तपुर अस्पतालमा कार्यरत रहेको लोकान्तरसँग बताइन् । एमबीबीएस पास गरेको तीन वर्ष भएको र डेढ वर्षदेखि भक्तपुर अस्पतालमै काम गर्दै आएको उनले खुलाइन् ।

छनोट भएका अर्का मेडिकल अफिसर सुसन थापाले भने आफूले विगत ४ महिनादेखि भक्तपुर अस्पतालमा काम गर्दै आएको लोकान्तरसँग बताए । 'एमबीबीएस पास गरेको झन्डै साढे २ वर्ष भएकोमा डेढ वर्षजति भक्तपुरकै क्यान्सर अस्पतालमा काम गरें,' थापाले लोकान्तरसँग भने, 'यहाँ भक्तपुर अस्पतालमा विगत ४ महिनादेखि कार्यरत छु ।'

त्यसैगरी छनोट भएका मेडिकल अफिसर सञ्जीव थापा पनि विगत दुई वर्षदेखि भक्तपुर अस्पतालमै कार्यरत छन् । ७ वर्षअघि नै एमबीबीएस पास गरेका थापाले त्यसअघि ४ वर्ष जति काठमाडौंको चाबहिलस्थित चाइना ग्रेट वाल हेल्थ सेन्टरमा काम गरेको खुलाए ।

छनोट भएका अर्का मेडिकल अधिकृत विवेक भण्डारीले पनि विगत तीन महिनादेखि भक्तपुर अस्पतालमा कार्यरत रहेको लोकान्तरलाई बताए ।

'मैले १ वर्षअघि मात्र एमबीबीएस पास गरेको हो । ६/७ महिना जति कर्णालीकै एउटा हस्पिटलमा काम गरें । अहिले तीन महिनादेखि भक्तपुर अस्पतालमै कार्यरत छु,' भण्डारीले लोकान्तरसँग भने ।

त्यसैगरी छनोट भएका अर्का मेडिकल अधिकृत विजय पन्तसँग भने सम्पर्क हुन सकेन । उनी पनि विगत डेढ वर्षदेखि उक्त अस्पतालमा कार्यरत रहेको अर्का एक चिकित्सकले बताए ।

त्यसैगरी, सातौं तहका लागि बायोमेडिकल इन्जिनियर एकजना माग भएकोमा ७ जनाले आवदेन दिएका थिए । सन्दीपा खड्का छनोट हुँदा सबु लाखे र समीक्षा बेल्बासे वैकल्पिकमा परेका छन् ।

सफल हुने खड्का र वैकल्पिकमा पर्ने लाखे दुवै भक्तपुरका हुन् । वैकल्पिकमा परेकी बेल्बासेको घर भने अर्घाखाँची हो । एकजना माइक्रोबायोलोजिस्ट माग हुँदा १२ जनाले आवेदन दिएकोमा ७ जना अन्तर्वार्तामा सहभागी भएका थिए । आनन्दकुमार मण्डल छनोट हुँदा विपिन गोपाली र सोनिया शर्मा वैकल्पिकमा परेका छन् । मण्डल जनकपुरका हुन् ।

आफू विगत १ वर्षदेखि भक्तपुर अस्पतालमै कार्यरत रहेको मण्डलले लोकान्तरलाई बताए ।

'म माइक्रो बायोलोजिस्ट भएको १२ वर्ष भयो । जनकपुर, विराटनगर, सुदुरपश्चिमसहितका ठाउँमा विगतमा काम गरेको हो,' मण्डलले थपे, 'अहिले भने विगत १ वर्षदेखि भक्तपुर अस्पतालमा कार्यरत छु ।'

सातौं तहको रेडियोग्राफी टेक्नोलोजिस्ट पदका लागि ११ जनाले आवेदन दिए पनि ८ जना मात्र अन्तर्वार्तामा सहभागी भएका थिए । सुरेन्द्र श्रेष्ठ छनोट हुँदा राजीव चौधरी र प्रजना प्रजापति वैकल्पिकमा परे । छनोट भएका श्रेष्ठ भक्तपुरका हुन् ।

त्यसैगरी, सातौं तहको नर्सिङ अधिकृतका लागि २ जना माग भएकोमा ६९ जनाले आवेदन दिँदा ६४ जना अन्तर्वार्तामा सहभागी भएका थिए ।

सिर्जना भट्टराई र सन्ध्या श्रेष्ठ छनोट हुँदा ममता खरेल, सिर्जना बासुकला, रमाकुमारी जोशी र दीपा श्रेष्ठसहित चारजनालाई वैकल्पिकमा राखिएको छ । सफल भएकी भट्टराई धादिङ र श्रेष्ठ काभ्रेकी हुन् ।

भट्टराईले आफू विगत २ वर्षदेखि सोही अस्पतालमा सोही पदमा कार्यरत रहेको बताइन् ।

त्यसैगरी, छनोट भएकी सन्ध्या श्रेष्ठले पनि विगत ३ वर्षदेखि सोही अस्पतालमा सोही पदमा कार्यरत रहेको लोकान्तरलाई बताइन् । वैकल्पिकमा परेका अन्य उम्मेदवारहरूले भने आफूहरूले अन्तर्वार्ता दिए पनि के कति कारणले छनोट नभएको भन्ने थाहा नपाएको बताए ।

त्यसैगरी, पाँचौं तहको मेडिकल ल्याब टेक्निसियन पदमा २ जना माग हुँदा ८४ जनाले आवेदन दिएकोमा ७१ जनाले अन्तर्वार्ता दिएका थिए । सोनाम दुवाल र विनोदकुमार लामा उत्तीर्ण हुँदा सगुन ख्याजु, सिर्जना खड्का, सन्दीप श्रेष्ठ र अनुषा बुढाथोकीसहित चारजनालाई वैकल्पिकमा राखिएको छ ।

सफल भएका दुवाल भक्तपुरका हुन् भने लामा मकवानपुरका हुन् । लामाले विगत दुई वर्षदेखि सोही अस्पतालमा सोही पदमा कार्यरत रहेको खुलाए । त्यसैगरी, अर्का उम्मेदवार सोनाम दुवाल पनि झन्डै डेढ वर्षदेखि सोही अस्पतालमा कार्यरत रहेको लामाले बताए ।

पाँचौं तहको फार्मेसी सहायकमा एकजना माग हुँदा २४ जनाले आवेदन दिएका थिए । १६ जना अन्तर्वार्तामा सहभागी भएकोमा संगीता श्रेष्ठ छनोट भइन् भने रवि श्रेष्ठ र अमरसिंह थापा वैकल्पिकमा परे । सफल भएकी श्रेष्ठ काठमाडौंकी हुन् । उनले पनि विगत दुई वर्षदेखि सोही अस्पतालमा फार्मेसी सहायकको काम गर्दै आएको लोकान्तरलाई बताइन् ।

त्यसैगरी, पाँचौं तहको स्टाफ नर्सका लागि २१ जना माग भएकोमा ६०९ जनाले आवेदन दिएका थिए । ५०१ जना अन्तर्वार्तामा सहभागी भए । रञ्जीता संग्रौला, इन्दिरा त्वाती, अस्मिता पौडेल, अस्मिता न्यौपाने, सविना बासी, प्रजिना खत्री, कुसुम श्रेष्ठ कैटी, गीता कार्की, मीरा मचामसी, निर्मला मगर, मदिरा चौलागाईं उत्तीर्ण भएका थिए ।

त्यसैगरी, सरिता परियार, रस्मिका रिजाल, सर्जुना रेग्मी, एलिना केसी, रुपा कार्की, करिना क्षेत्री, करुणा ढकाल, रीति तामाङ, रिया श्रेष्ठ र मनिसा श्रेष्ठ छनोट भएका छन् ।

सानुमाया दाहाल, निशा फुयाँल, रसा खड्का, विनिता त्वानावासु, सविना केसी, अंकिता गौतम, प्रतीक्षा खड्का, एलिसा कोजु, स्मृतिकुमारी कार्की, मन्दिरा कासिछवा, पवित्रा बुर्जा मगर, श्रीजन कवाँ, शुभलक्ष्मी शाह वैकल्पिकमा परे ।

त्यसैगरी, समिता जिसी, निशा श्रेष्ठ, सुभद्रा राजवंशी, रचना चौधरी, अस्लिमा महर्जन, सुस्मिता पौडेल, पार्वती श्रेष्ठ, सलिना कोजु, मिरा प्रजापति, नानुमा आङ्बुहाङ, विमलाकुमारी थापा, सीता ओली, रविना सैंजु, पुनम थापा मगर, बिन्द्रा त्वाती पनि वैकल्पिकमा परे ।

त्यसैगरी, शुभेच्छा थापा, विनु चौधरी, श्रद्धा थापा, रिजु बोयाजु, सुस्मिता गुरुङ, संगीता लामा, राजी सुवाल, वर्षा रञ्जितकार, विना महर्जन, इन्दिरा भट्टराई, यमुना श्रेष्ठ, कुसुम राई, जानकी प्रजापति  र रश्मी दाहालसहित ४२ जनालाई वैकल्पिकमा राखिएको छ ।

सफल भएकी इन्दिरा त्वातीले आफू विगात ७ वर्षदेखि उक्त अस्पतालमा काम गर्दै आएको लोकान्तरसँग बताइन् । छनोट भएकी  नर्स अस्मिता पौडेल पनि विगत ४ वर्षदेखि सोही अस्पतालमा कार्यरत छिन् ।

'मैले १२ वर्षदेखि काम गरिरहेकी छु । कोभिडमा स्वास्थ्य सेवा विभागमै पनि काम गरेकी हो,' उनले लोकान्तरसँग भनिन्, 'तर, भक्तपुर अस्पतालमा ४ वर्षदेखि काम गर्दै आएकी छु ।'

अस्मिता न्यौपाने पनि ४ वर्षदेखि नै उक्त अस्पतालमा कार्यरत छिन् ।

त्यसैगरी छनोट भएकी गीता कार्कीले पनि विगत दुई वर्षदेखि भक्तपुर अस्पतालमा कार्यरत रहेको बताइन् । करियरको ७ वर्ष जति भएकोमा ५ वर्ष अन्य अस्पतालमा काम गरे पनि विगत २ वर्षदेखि सोही अस्पतालमा काम गर्दै आएको उनले खुलाइन् ।

त्यसैगरी सफल भएकी करिना क्षेत्रीले पनि विगत एक वर्षदेखि भक्तपुर अस्पतालमा कार्यरत रहेको बताइन् ।

दुई वर्षको करियर भएकोमा एक वर्षजति सिन्धुली अस्पतालमा काम गरेको तथा लगभग १ वर्षदेखि भक्तपुर अस्पतालमा कार्यरत रहेको क्षेत्रीले लोकान्तरलाई बताइन् ।

सर्जुना रेग्मी र रिया श्रेष्ठले भने विगतमा कहीँ पनि काम नगरेको तथा पहिलोपटक दिएको अन्तर्वार्ताबाट छनोट भएको बताए । उनीहरू भर्खरै पासआउट भएका हुन् ।

यसरी छनोट भएका २१ जना नर्समध्ये अधिकांश सोही अस्पतालमा पहिलेदेखि नै कार्यरत रहेको पाइएको छ ।

त्यसैगरी, पाँचौं तहको अप्थाल्मिक असिस्टेन्ट पदमा १ जना माग हुँदा २१ जानले आवेदन दिएकोमा १६ जना अन्तर्वार्तामा सहभागी भएका थिए । प्रकृति पौडेल छनोट हुँदा असिम छुस्याबाग र विनिका शिल्पकार वैकल्पिकमा परेका हुन् ।

उनले विगत १ वर्षदेखि सोही अस्पतालमा कार्यरत रहेको खुलाइन् ।

'मेरो करियरको २ वर्ष भयो । एक वर्षजति विराटनगरमा काम गरेको हो । अनि १ वर्षदेखि यही भक्तपुर अस्पतालमा काम गर्दै आएकी छु,' उनले लोकान्तरसँग भनिन् ।

त्यसैगरी पाँचौं तहकै सहायक डाइटिसियन सुपरभाइजर पदमा १ जनाको माग भएकोमा ८ जनाले आवेदन दिएका थिए । आठजना अन्तर्वार्तामा सहभागी हुँदा अर्चना भट्ट सफल भइन् भने प्रज्वला प्रजापति र सोनिका ख्याजु वैकल्पिकमा परे । पाँचौं तहको डार्करूम सहायक रेडियोग्राफर पदका लागि एकजना माग हुँदा १९ जनाले आवेदन दिएका थिए । १४ जना अन्तर्वार्तामा सहभागी हुँदा जेनिशा ध्वोजु सफल भइन् भने विजय ढकाल र शारदा बासुकला वैकल्पिकमा परे ।

छनोट भएकी ध्वोजूले भने २०७२ सालमा पास आउट भएको र विगतमा भक्तपुरकै इबामुडा हस्पिटलमा काम गर्दै आएको बताइन् । भक्तपुर अस्पतालमा भने उनी भर्खरै जोइन भएकी हुन् ।

पाँचौं तहकै हेल्थ असिस्टेन्ट पदका लागि १ जनाको माग हुँदा ११५ जनाले आवेदन दिएका थिए । ५० जना अन्तर्वार्तामा सहभागी हुँदा विना बासुकला छनोट भइन् । मञ्जुला कासिछवा र ओमप्रकाश यादव वैकल्पिकमा परे ।

भक्तपुर अस्पतालबाहिरका अन्तर्वार्तामा सहभागी भएकामध्ये कतिपयले नतिजाबारे थाहा भएको बताए भने कतिपयले थाहै नभएको बताए ।

भ्याकेन्सी आह्वान भएपछि अन्तर्वार्तामा सहभागी भएको तर नतिजा हेर्दा वैकल्पिकमा राखिएको हुनाले थप केही जानकारी नभएको प्रतिक्रिया दिए ।

***

भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमसँग प्रतिक्रिया लिँदा कार्यविधिअनुसार फेयर जाँच भएको दाबी गरिन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट खटिएका प्रतिनिधि, प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयबाट खटिएका प्रतिनिधि, भक्तपुर अस्पतालबाट खटिएका प्रतिनिधि र विषय विज्ञ समेतको संयुक्त टोलीले दिएको अंकका आधारमा नतिजा प्रकाशन गरिएको उनले बताइन् ।

शैक्षिक योग्यताको अंक, कार्य अनुभवको अंक, तालिम गरेको अंक आदि सबै र अन्तर्वार्तामा समितिका सदस्यहरूले दिएको सबै अंक जोडेर आएको अंकलाई कुल प्राप्तांक मानेर नतिजा प्रकाशन गरिएको गौतमले बताइन् ।

तर, अधिकांश भक्तपुर अस्पतालमा पहिलेदेखि कार्यरत कर्मचारीलाई नै छनोट गरिएको भने पछि गौतमले त्यसमा आफ्नो भन्दा पनि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको निर्णय भएको बताइन् ।

'केही वर्षअघि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले नै जाँच लिएर छनोट गरेका अस्थायी कर्मचारीहरू नै पहिलेदेखि भक्तपुर अस्पतालमा काम गर्दै आएका हुन्,' गौतमले लोकान्तरसँग थपिन्, 'अब यसमा हाम्रो भन्दा पनि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको निर्णय हो ।'

आर्थिक चलखेलको आरोप भने उनले खण्डन गरिन् ।

हेर्नुहोस्, परीक्षाको नतिजा :

 

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

कात्तिक २०, २०७४

काठमाडौं, २२ चैत्र– मुलुककै जेठो अस्पताल –वीर अस्पताल झन पछि झन बेथितीग्रस्त बन्दै गएको छ । आर्थिकरुपले विपन्न वर्गहरु कम खर्चमा उपचार सम्भव हुने आशा र सरकारी राम्रो डाक्टरहरु हुने कारण वीर अस्पताल...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x