२४ असार २०८३, बुधबार

घरबाटै वर्गीकरण गरेर फोहर उठाउँदै व्यास नगरपालिका

भदौ २०, २०८१
तनहुँ
घरबाटै वर्गीकरण गरेर फोहर उठाउँदै व्यास नगरपालिका

व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरणगरी सङ्कलन गर्न थालेको छ । फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्रसमेत छैन । 

पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरणगरी फोहर सङ्कलन गर्न थालेको हो । 

कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्ने काम भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । 'एकैठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले घरबाटै वर्गीकरण गरेर सङ्कलन भइरहेको छ,' उनले भने, 'यसले गर्दा केही हदसम्म फोहर व्यवस्थापनमा सहयोग पुग्नेछ ।'

फोहरमैला व्यवस्थापनका लागि सामना गर्नुपरेका समस्या समाधानमा सहयोगका लागि नगरपालिकाले छ महिनाअघि सरसफाइविज्ञका रूपमा कृष्ण भण्डारीलाई नियुक्त गरेको छ । भण्डारीकै सल्लाह बमोजिम कुहिने र नकुहिने फोहर वर्गीकरण गरी व्यवस्थापनको काम अगाडि बढेको हो । 

नगरप्रमुख न्यौपानेले भने, 'उहाँले धनगढी, वालिङलगायत क्षेत्रमा सफलतापूर्वक फोहर व्यवस्थापनलगायत काम उदाहरणीय रूपमा सम्पन्न गरिसक्नुभएको छ । उहाँको सोअनुभवका आधारमा यहाँ पनि व्यवस्थापनको काम अगाडि बढेको छ । नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लाष्टिक, कागज जस्ता चिजहरू छुट्टाएर त्यसलाई मेसिनले कम्प्रेस गरेर केही आम्दानीसमेत गरिरहेका छौं ।'

सरसफाइविज्ञ भण्डारीले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउने काम गरिरहेका छन् । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहर छुट्याएर आम्दानी गर्न थालेको नगरप्रमुख न्यौपानेको भनाइ छ । 

फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि वडा नं १३ मा जग्गा खरिदको प्रक्रियासमेत अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ । 

३२ वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएकाले अब दीर्घकालीन योजनासहित समस्या समाधानको पहल भइरहेको नगरप्रमुख न्यौपानेले बताए । 'विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो । अहिले जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । त्यसपछि थप समस्या समाधानका लागि सहज हुनेछ,' उनले भने ।  

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने कामसमेत गरिरहेको छ । 

बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर सङ्कलन हुँदै आएको छ । बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्