
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार पनि बस्दैछ । बुधबारदेखि जारी बैठकमा नेताहरूले बोल्न र नेतृत्वले जवाफ दिन बाँकी रहेकाले आज बिहान ८ बजे पुन: बैठक फेरि बस्ने पार्टी प्रवक्ता सुभाष लाभले जानकारी दिए ।
आजको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे छलफल हुने प्रवक्ता लाभले बताए ।
बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् ।
नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्ने र त्यसका लागि कानुनविद्को सहभागितामा एउटा कार्यदल गठन गर्न सुझाव दिएका हुन् ।