
कुनै समयमा टेलिश्रृङ्खला हेरेर रमाउने नेपालीहरूका अहिले हात-हातमा स्मार्ट फोन छन् । अहिले कसैलाई पनि कुनै पनि विषयमा धेरै सम्झाउनु र देखाउनु पर्दैन । सबै कुरा अनलाइनमा सर्वत्र छन् ।
माथि आधा रातो र तल निलो कलरको बीचमा सेतो कलरको गोलाकार आकारमा कुनै लोगो देख्ने बित्तिकै अधिकांशले चिन्छन् । झन् सन् २००० भन्दा अघि जन्मेका र सन् २०१० सम्म जन्मेकाहरूले त टाढैबाट उक्त लोगो पहिचान गर्न सक्छन् ।
रातो, नीलो र बीचमा सेतो कलरमाथि कालो अक्षरले ‘पेप्सी’ लेखिएको बोतलको इतिहास करिब १२६ वर्ष पुरानो छ । यतिकै पेप्सी–कोला नामले चर्चा र सबैको आँखामा पर्न सफल भने अवश्य पनि भएको होइन ।
कुनै समयमा टेलिभिजन र बाटोहरूमा पेप्सी–कोला प्रचारहरू देखेरै खोजी गरिन्थ्यो । सबैले चिसो पेय पदार्थका रूपमा पेप्सी–कोलालाई पहिचान गर्न सक्छन् ।
सन् १९७३ मा पेप्सी–कोलाले नेपाली बजारमा इन्ट्री गरेको थियो । जुन अहिले वरुण वेभरेज (नेपाल) प्रालिले बिक्री वितरण गर्दै आइरहेको छ ।
शुरूआती चरणमा भारतबाट करिब डेढ लाख पेप्सी–कोलाका बोतलहरू ल्याएर मेन्युफ्याक्चर गरिन्थ्यो । त्यसपछि नेपालमा विस्तारै पेप्सीले बजार बनाएपछि नेपालमै पेप्सी–कोलाका उत्पादनहरू बन्न थालेका हुन् ।
भारतीय बजारमा पेप्सी–कोलाले इन्ट्री गरे लगतै नेपालमा पनि सोही बेलादेखि नै पेप्सी भित्रिन शुरू गरेको देखिन्छ ।
अहिले नेपाली चिसो पेय पदार्थको बजारको सबैभन्दा ठूलो हिस्सा पेप्सी-कोलाले ओगटेको छ ।

तीन रङ्गहरूले बनेको लोगो
विश्वभर नै फैलिएको ‘पेस्सी–कोला’को पहिलो लोगो बुट्टाको चक्रभित्र पेप्सी कोरिएको थियो ।
पेप्सी–कोलाका संस्थापक ‘कालेब ब्राडहम’ले सन् १८९८ मा पेप्सी–कोलालाई चिनाउने लोगो एकदमै घुमाउरो अङ्ग्रेजीमा बनाएका थिए ।
शुरूआती चरणमा पेप्सी–कोलाले स्वादका लागि स्थान बनाए पनि विस्तारै सर्वसाधारणहरूले खाना पचाउने र पेटसम्बन्धी रोगहरू सन्चो गर्ने भएपछि यसको लोकप्रियता झन् बढ्यो ।
सन् १९७३ मा कम्पनीले आफ्नो लोगोमा फरक पनि दियो । जहाँ लोगोलाई बाहिरबाट बक्सको रूपमा बन्द गरिएको जस्तो बनाइयो । उक्त लोगो सन् १९७३ देखि १९८७ सम्म चल्यो ।
सन् १९८७ देखि १९९१ सम्म पेप्सीले उक्त लोगोमा अलिक बढी कलर थपेर चम्किलो पन मात्रै दियो ।
सन् १९९१ मा कम्पनीले लोगोको बीचमा कोरिएको ‘पेप्सी’ अक्षरलाई हटाएर माथि राख्यो । यो लोगो सन् १९९७ सम्म चल्यो ।
सन् १९९७ मा कम्पनीले पेप्सीको लोगोलाई पृथ्वीको माथि ‘पेप्सी’ नामक अक्षर राखेर बनायो । जुन सन् २००३ सम्म चल्यो । सन् २००३ देखि २००८ सम्म उक्त लोगोलाई बढी चम्किलो र गाढा बनाइयो ।
सन् २००८ मा कम्पनीले ‘पेप्सी’ लेखिएको अक्षरलाई लोगोमा तल पट्टी राख्यो । उक्त लोगोलाई एक वर्षभन्दा बढी राखिएन ।
सन् २००९ मा नै कम्पनीले पुरानै मोडलमै छेउमै पेप्सीका तीन कलर राखेर अक्षरलाई पनि सँग सँगै राख्यो । यो लोगो सन् २०१४ सम्म चल्यो ।
सन् २०१४ देखि सोही लोगोमा केही पनि परिवर्तन नगरी कम गाढा बनाएर अहिलेसम्म चलाइरहेको छ ।
स्वादका लागि मात्रै नभएर अहिले पेप्सी–कोला पाचनका लागि उपभोग गरिने पेय पदार्थका रूपमा स्थापित भइसकेको छ ।