
तनहुँ जिल्लामा विद्युत् उपयोग गर्ने ग्राहक बढेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र मातहत ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा एक हजार तीन सय ४५ ग्राहक सङ्ख्या वृद्धि भएको वितरण केन्द्रले जनाएको छ ।
गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिँचाइतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेशनतर्फ दुई, सडक बत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक वृद्धि भएको वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए ।
उनका अनुसार गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिँचाइतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेशनतर्फ दुई, सडक बत्ती एक सय ६९, मन्दिरतर्फ दुई सय तीन, अन्य एक सय सात ग्राहक पुगेका छन् ।
वितरण केन्द्रले सो अवधिमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट बिक्री गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९÷८० को तुलनामा ५ दशमलव ९३ प्रतिशतले बढी हो । यसक्रममा पाँच करोड १० लाख ३२ हजार चार सय ८९ युनिट विद्युत बिक्री भएको थियो ।
कार्यालयले आव २०८०÷८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ को विद्युत् बिक्री गरेको छ । आव २०७९÷८० मा रु ४८ करोड ७७ लाख ३८ हजार सात सय ७६ को विद्युत् बिक्री भएको थियो ।
केन्द्रले त्यस वर्ष ७ दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण भएको रेग्मीले जानकारी दिए ।