
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो कार्यकालमा आफ्नो पहिलो विदेश भ्रमण अमेरिकाबाट गर्ने भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमणको कार्यतालिका स्वीकृत गरेको हो । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री जाने तय भएको र यो नै उनको चौथो कार्यकालको पहिलो विदेश भ्रमण हुने बैठकपछि एक मन्त्रीले जानकारी दिए ।
००००
सरकारले कच्चा दूध आपूर्तिकर्ता किसानहरूलाई रकम भुक्तानी दिन दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको छ ।
००००
सरकारले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पलेशाले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
००००
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीवार बसेको बैठकले जोशीलाई सीईओमा नियुक्त गरेको हो ।
००००
अवकाशमा जना लागेका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहितका प्रहरी अधिकृतहरूको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बिहीबार उक्त रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उक्त रिटलाई अग्राधिकार भने प्रदान गरिएको छ ।
००००
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको २ महिना पनि बितेको छैन । भर्खर ५० दिन भएको छ ।
नागरिकमा बढ्दो निराशा र असन्तुष्टि, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको खबरदारी, सडकदेखि सामाजिक सञ्जालसम्म सरकारमाथि केही प्रश्न उठ्नुबाहेक ठूलो चुनौती सामना गर्नुपरेको छैन ।
यसअघि जस्तो सरकारमा आलोपालोको सहमति गोप्य पनि छैन । शंका नहोस् भनेर प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने बेलामै ७ बुँदे सहमति सार्वजनिक गर्दै ‘पब्लिक अडिट’ गराएका थिए ।
दुईतिहाइको सरकार बनाएलगत्तै अर्थतन्त्र सुधारको सानो संकेतस्वरूप शेयर बजार सुधार भएको र टीआरसी विधेयक अघि बढेर शान्ति प्रक्रिया टुंगोमा पुग्ने दिशामा अगाडि बढेको विषयलाई कांग्रेस–एमालेले सफलता मानेका छन् । दुई ठूला दल मिल्नुको औचित्य जनताले खोजिरहेका छन् । छिनछिनै र दिनदिनै नागरिकले बुझ्ने गरी नतिजा देखाउनुपर्ने चुनौती कांग्रेस–एमाले सरकारसामु छ ।
बलियो सरकारको बलमा राजनीतिक स्थायित्य दिन, सुशासन र नागरिकले बोध गर्नेगरी काम देखाउन निरन्तर लाग्नुपर्ने हो । तर, प्रधानमन्त्री ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मले एकअर्कालाई आश्वस्त पार्नकै लागि नियमित बोलिरहेका छन् ।
ओलीले पटक–पटक असार ३० गतेपछिको दुई वर्ष आफूले र त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने बताउँदै आएका छन् । उनले कतिसम्म भरोसा दिलाउन खोजेका भने सचिवहरूलाई निर्देशन दिने क्रममा समेत आफूले दुई वर्ष पुग्नुभन्दा एक साता अगाडि नै राजीनामा दिने र त्यसपछि देउवा २०८४ को चुनावसम्म प्रधानमन्त्री बन्ने बताए ।
पछिल्लो समय एमाले र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आरोप्रत्यारोप चल्दै आएको छ । यहीबेला कांग्रेसलाई थप आश्वस्त पार्न र माओवादीतिर संवादमा नपुगोस् भनेरै एमालेले सचेततापूर्वक वामपन्थीबीच मोर्चाबन्दी नगर्ने निर्णय गरेको देखिन्छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्याबारे पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएका छन् ।
समस्या समाधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग बिहीवार कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
००००
रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयसँग समेत त्यसविषयमा पटक पटक संवाद गरेको तथ्य फेला परेको छ ।
गौर कारागारमा कैद जीवन बिताएर बाहिर आएका राजेश गिरीले त्यही कारागारमा रहेका कैदी मनोजकुमार चौधरीलाई चौकीदार बनाइदिन्छु भनेर १४ लाख १५ हजार रुपैयाँ बुझेका थिए ।
आफूलाई नेकपा माओवादी केन्द्रको सदस्य बताउने उनले यस विषयमा तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लसँग सम्वाद गरेको खुलेको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताएका छन् ।
शहीदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बलिदानीपूर्ण संघर्षमाथि धावा बोल्नेहरूको भण्डाफोर गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेुको भनेर दिएको अभिव्यक्तिको पनि जवाफ फर्काए । प्रधानमन्त्रीमै बसेका नेताले ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर बोलेको कुरा आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’
००००
उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको सेनेटरी ल्याण्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट शुरू भएको छ । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १२.१० अङ्कले घटेर २७२७।३६ को विन्दुमा पुगेर बन्द भएको हो ।