
भाइ (सालो) को विवाहका लागि किनमेल गरेर घर फर्किंदै थिए, दशरथ न्यौपाने । जीवनसाथी मुना पनि सँगै थिइन् ।
बुटवलको व्यापारिक केन्द्र अमरपथमा किनमेल सकेर कालिकानगरतर्फ स्कुटरमा फर्किंदै गर्दा गएको फागुन १ गते बसपार्कभन्दा केही तल सडकको डिभाइरमा जुधेका दुई साँढे (गोरु)ले दशरथ र मुना सवार स्कुटरलाई लडाए ।
स्कुटर चलाएका दशरथलाई त्यसपछिको घटनाक्रम याद छैन । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज उपचारपछि बल्ल उनको होश खुल्यो ।
चेकजाँच गर्दा दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको रहेछ । भाग्यवश मुनालाई सामान्य चोट मात्र लाग्यो ।
सामान्य मजदुरी गरेर जीवन धान्दै अघि बढिहेका ३९ वर्षीय न्यौपानेले नसोचेको परिस्थिति झेल्नुपर्यो ।
३ महिना अस्पताल बस्दा १० लाख रुपैयाँ सकियो । ३ महिनाको अवधि ३ वर्षजस्तो लाग्यो । उपचार खर्च जुटाउन गर्नुपरेको सास्तीको त कुरै नगरौं ।
वैशाखमा उनी घर त फर्किए, तर अहिलेसम्म हिँडडुल गर्न सक्दैनन् ।
‘खट्टामा दुईतिरबाट ३ वटा रड राखेका छन् । दैनिक थेरापी गर्नुपर्छ । काम गरेर परिवार धानेको मान्छेलाई यस्तो आपत पर्यो । जीवनप्रति निराश हुने, सपनाहरू चकनाचुर हुने, हाँस्न बोल्न मन नलाग्ने अवस्थामा पुगें ।’
उनले थपे, ‘सीता पाण्डेलाई गोरुले टाउकोमा टेक्दा निधन भयो । मेरो ने खुट्टामा टेकेकाले बाँच्न सफल भएँ । घटना उस्तै–उस्तै हुन्,’ दशरथले गहभरी आँसु पार्दै भने ।

रड झिकेपछि खुट्टाले कत्तिको साथ दिने हो, यकिन छैन । उनको जीवनमा अँध्यारो छाएको छ ।
दशरथको परिवारमा त्यो भन्दा ठूलो चोट पहिलेदेखि नै थियो । ४ वर्षका छोरा विशेष न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । जसोतसो ऋणधन गरेर छोरी विशेषतालाई प्राइभेट स्कूलमा पढाए पनि अहिले सामुदायिक विद्यालयमा सार्ने तयारीमा छन् ।
छोरा विशेषमा अटिजमजस्तै समस्या पनि देखिएको छ । छोराको उपचारका लागि कैयन अस्पताल धाए । ठूलो खर्च गरे, तर केही लागेन ।
‘काठमाडौंको कान्ति बाल अस्पतालमा छोराको उपचारका लागि २ महिना बसें । त्यहाँ पनि ठूलो खर्च भयो’ उनी भन्छन्, ‘अहिले थेरापी गरे केही सुधार हुन्छ कि भनेर दैनिक दुईपटक ६०० रुपैयाँ तिरेर थेरापी गराउँदै आएका छौं । तर, सुधार हुने कुनै संकेत देखिएको छैन । छोराका ६०० र मेरा लागि ५०० गरी ११ सय रुपैयाँ दैनिक थेरापीमै जान्छ ।’
उनले थपे, ‘छोराले दिशापिसाव आएको संकेत समेत गर्दैन । डाइपर किन्न नै दैनिक २०० रुपैयाँ खर्च हुन्छ । डाइपर नलगाए दिशापिसाव गन्हाएर कोठामा बसिसक्नु हुँदैन ।’
मुना गर्भवती भएका बेला ‘एम्न्योटिक फ्ल्युड’ कम भएपछि ६ महिनामै अपरेसन गरी बच्चा निकालिएको थियो ।
बाहिर निकाल्दा विशेष जम्मा १३ सय ग्रामका थिए । बाँच्ने सम्भावना ५ प्रतिशत रहेको र बाँचे पनि परिवारलाई गाह्रो हुने चिकित्सकले बताएका थिए ।
आफ्नो सन्तानको माया लाग्ने नै भयो । जसरी पनि बचाउने भनेर २ महिना एनआईसीयूमा राखे ।
पाँच वर्षसम्म वैदेशिक रोजगारीमा गएर फर्किएका दशरथ देशमै केही गर्ने योजना बनाएर यहीँ बसेका थिए । अहिले एकपछि अर्को संकट उनीमाथि आइलागेको छ ।
नगरका गाई/गोरुको आक्रमणमा परेर घाइते भएका दशरथले उपचार खर्च माग गर्दै नगरपालिकामा निवेदन पनि दिए, तर स्थानीय सरकारले कुनै सुनुवाइ नगरेको उनले बताए ।
विदेशको कमाइ र ऋण धन गरी बनाएको घर धितो राखेर उनले ३० लाख ऋण निकालेका थिए ।
छोरा र आफ्नो उपचारमा त्यो पैसा सकिएर थप ऋण लागेको छ । अहिले दैनिक बैंकले फोन गर्छ, तर लिएको ऋण तिर्ने कुनै बाटो उनीसँग छैन । परिवार चलाउन मुनाले सामान्य जागिर गर्दै आएकी छन् ।
मुना काममा गएपछि छोरालाई टीभीमा कार्टुन लगाइदिएर दशरथले दिनभर उनलाई भुलाउँछन् ।

न्यौपाने परिवार पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर– १ ख्याहा हुन् । नसोचेको घटनाले परिवारमा पीडामाथि थप पीडा दिएको मुना बताउँछिन् । उनी घरबाट काममा निस्किँदा छोरा दिनभर रुन्छन् ।
विशेषले दालभात खाँदैनन्, पिसेको लिटोजस्तो बनाएर खुवाउनुपर्छ ।
गएको साउन अन्तिम साता बुटवलको गोलपार्कमा खाजा घर सञ्चालन गर्दै आएकी गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर– ४ अर्खलेकी ४५ वर्षीया सीता पाण्डेको साँढेको जुधाइमा परेर निधन भएको थियो ।
बुटवलका छाडा चौपायाले दुर्घटना र जोखिम दुवै बढाएका छन् ।
बुटवल उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि शिवनगर सामुदायिक वनमा गौशाला बनाए पनि अहिले त्यहाँ धेरै गाई छैनन् ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले घटनामा परेकालाई अवस्था हेरेर केही राहत सहयोग उपलब्ध गराउन सकिने बताइन् ।
‘निवेदन कसलाई दिनुभएको हो, मलाई अहिलेसम्म थाहा छैन,’ अर्यालले भनिन्, ‘अप्ठ्यारोमा परेका परिवारलाई अभिभावकीयरूपमा पालिकाले केही सहयोग गर्न सक्छ ।’