०१ असार २०८३, सोमबार
बुटवलमा साँढे आतंक

साँढेको जुधाइमा मिचिएका दशरथ– परिवारमा एकपछि अर्को संकट

भदौ २१, २०८१
बुटवल
साँढेको जुधाइमा मिचिएका दशरथ– परिवारमा एकपछि अर्को संकट

भाइ (सालो) को विवाहका लागि किनमेल गरेर घर फर्किंदै थिए, दशरथ न्यौपाने । जीवनसाथी मुना पनि सँगै थिइन् ।

बुटवलको व्यापारिक केन्द्र अमरपथमा किनमेल सकेर कालिकानगरतर्फ स्कुटरमा फर्किंदै गर्दा गएको फागुन १ गते बसपार्कभन्दा केही तल सडकको डिभाइरमा जुधेका दुई साँढे (गोरु)ले दशरथ र मुना सवार स्कुटरलाई लडाए ।

स्कुटर चलाएका दशरथलाई त्यसपछिको घटनाक्रम याद छैन । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज उपचारपछि बल्ल उनको होश खुल्यो ।

चेकजाँच गर्दा दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको रहेछ । भाग्यवश मुनालाई सामान्य चोट मात्र लाग्यो ।

सामान्य मजदुरी गरेर जीवन धान्दै अघि बढिहेका ३९ वर्षीय न्यौपानेले नसोचेको परिस्थिति झेल्नुपर्‍यो ।

३ महिना अस्पताल बस्दा १० लाख रुपैयाँ सकियो । ३ महिनाको अवधि ३ वर्षजस्तो लाग्यो । उपचार खर्च जुटाउन गर्नुपरेको सास्तीको त कुरै नगरौं ।

वैशाखमा उनी घर त फर्किए, तर अहिलेसम्म हिँडडुल गर्न सक्दैनन् ।

‘खट्टामा दुईतिरबाट ३ वटा रड राखेका छन् । दैनिक थेरापी गर्नुपर्छ । काम गरेर परिवार धानेको मान्छेलाई यस्तो आपत पर्‍यो । जीवनप्रति निराश हुने, सपनाहरू चकनाचुर हुने, हाँस्न बोल्न मन नलाग्ने अवस्थामा पुगें ।’

उनले थपे, ‘सीता पाण्डेलाई गोरुले टाउकोमा टेक्दा निधन भयो । मेरो ने खुट्टामा टेकेकाले बाँच्न सफल भएँ । घटना उस्तै–उस्तै हुन्,’ दशरथले गहभरी आँसु पार्दै भने ।

null

रड झिकेपछि खुट्टाले कत्तिको साथ दिने हो, यकिन छैन । उनको जीवनमा अँध्यारो छाएको छ ।

दशरथको परिवारमा त्यो भन्दा ठूलो चोट पहिलेदेखि नै थियो । ४ वर्षका छोरा विशेष न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । जसोतसो ऋणधन गरेर छोरी विशेषतालाई प्राइभेट स्कूलमा पढाए पनि अहिले सामुदायिक विद्यालयमा सार्ने तयारीमा छन् ।

छोरा विशेषमा अटिजमजस्तै समस्या पनि देखिएको छ । छोराको उपचारका लागि कैयन अस्पताल धाए । ठूलो खर्च गरे, तर केही लागेन ।

‘काठमाडौंको कान्ति बाल अस्पतालमा छोराको उपचारका लागि २ महिना बसें । त्यहाँ पनि ठूलो खर्च भयो’ उनी भन्छन्, ‘अहिले थेरापी गरे केही सुधार हुन्छ कि भनेर दैनिक दुईपटक ६०० रुपैयाँ तिरेर थेरापी गराउँदै आएका छौं । तर, सुधार हुने कुनै संकेत देखिएको छैन । छोराका ६०० र मेरा लागि ५०० गरी ११ सय रुपैयाँ दैनिक थेरापीमै जान्छ ।’

उनले थपे, ‘छोराले दिशापिसाव आएको संकेत समेत गर्दैन । डाइपर किन्न नै दैनिक २०० रुपैयाँ खर्च हुन्छ । डाइपर नलगाए दिशापिसाव गन्हाएर कोठामा बसिसक्नु हुँदैन ।’

मुना गर्भवती भएका बेला ‘एम्न्योटिक फ्ल्युड’ कम भएपछि ६ महिनामै अपरेसन गरी बच्चा निकालिएको थियो ।

बाहिर निकाल्दा विशेष जम्मा १३ सय ग्रामका थिए । बाँच्ने सम्भावना ५ प्रतिशत रहेको र बाँचे पनि परिवारलाई गाह्रो हुने चिकित्सकले बताएका थिए ।

आफ्नो सन्तानको माया लाग्ने नै भयो । जसरी पनि बचाउने भनेर २ महिना एनआईसीयूमा राखे ।

पाँच वर्षसम्म वैदेशिक रोजगारीमा गएर फर्किएका दशरथ देशमै केही गर्ने योजना बनाएर यहीँ बसेका थिए । अहिले एकपछि अर्को संकट उनीमाथि आइलागेको छ ।

नगरका गाई/गोरुको आक्रमणमा परेर घाइते भएका दशरथले उपचार खर्च माग गर्दै नगरपालिकामा निवेदन पनि दिए, तर स्थानीय सरकारले कुनै सुनुवाइ नगरेको उनले बताए । 

विदेशको कमाइ र ऋण धन गरी बनाएको घर धितो राखेर उनले ३० लाख ऋण निकालेका थिए ।

छोरा र आफ्नो उपचारमा त्यो पैसा सकिएर थप ऋण लागेको छ । अहिले दैनिक बैंकले फोन गर्छ, तर लिएको ऋण तिर्ने कुनै बाटो उनीसँग छैन । परिवार चलाउन मुनाले सामान्य जागिर गर्दै आएकी छन् ।

मुना काममा गएपछि छोरालाई टीभीमा कार्टुन लगाइदिएर दशरथले दिनभर उनलाई भुलाउँछन् ।

null

न्यौपाने परिवार पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर– १ ख्याहा हुन् । नसोचेको घटनाले परिवारमा पीडामाथि थप पीडा दिएको मुना बताउँछिन् । उनी घरबाट काममा निस्किँदा छोरा दिनभर रुन्छन् ।

विशेषले दालभात खाँदैनन्, पिसेको लिटोजस्तो बनाएर खुवाउनुपर्छ ।

गएको साउन अन्तिम साता बुटवलको गोलपार्कमा खाजा घर सञ्चालन गर्दै आएकी गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर– ४ अर्खलेकी ४५ वर्षीया सीता पाण्डेको साँढेको जुधाइमा परेर निधन भएको थियो ।

बुटवलका छाडा चौपायाले दुर्घटना र जोखिम दुवै बढाएका छन् ।

बुटवल उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि शिवनगर सामुदायिक वनमा गौशाला बनाए पनि अहिले त्यहाँ धेरै गाई छैनन् । 

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले घटनामा परेकालाई अवस्था हेरेर केही राहत सहयोग उपलब्ध गराउन सकिने बताइन् ।

‘निवेदन कसलाई दिनुभएको हो, मलाई अहिलेसम्म थाहा छैन,’ अर्यालले भनिन्, ‘अप्ठ्यारोमा परेका परिवारलाई अभिभावकीयरूपमा पालिकाले केही सहयोग गर्न सक्छ ।’

salt training

कमेन्ट गर्नुहोस्