०९ असार २०८३, मंगलबार

छुट्टाछुट्टै दुर्घटनामा बालकसहित दुई जनाको मृत्यु

भदौ २१, २०८१
झापा
छुट्टाछुट्टै दुर्घटनामा बालकसहित दुई जनाको मृत्यु

झापामा दुई छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एक जनाको आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–५ का २४ वर्षीय दिवाङकर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

बिर्तामोडको मुक्ति चोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १० प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालक राई र पछाडि सवार मोरङ सुन्दरहरैँचा नगरपालिका–१० का २८ वर्षीय सुवोद बस्नेत घाइते भएका थिए ।

घाइते उनीहरूको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा मोटरसाइकल चालक राईको आज बिहान ८ः४५ बजे मृत्यु भएको हो ।

प्रहरीले ट्रक र ट्रक चालक अर्जुनधारा–६ का ३१ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका कनकाई–५ चपरमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको सोही स्थानका चार वर्षीय बालक आर्यन टुडूलाई ठक्कर दिएको थियो ।

घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लागिए पनि थप उपचारको लागि बीएन्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक झापा गाउँपालिका–२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्