
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगीमा आफूमाथि शंका लागेमा छानबिन गर्न आग्रह गरेका छन् । सहकारी ठगीसम्बन्धी छानबिन समितिको प्रतिवेदन आउनैलाग्दा विषयलाई अन्तै मोड्न आफूलाई विवादमा तानिएको उनले दाबी गरे ।
मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस उपसभापति गुरुङले २०७६ सालमै सम्बन्धविच्छेद भएकी पत्नीले गरेको दोषमा आफू भागिदार नहुने बताएका हुन् । उनकी पूर्वपत्नी ज्योति गुरुङ प्रबन्ध निर्देशक रहेको मितेरी सहकारी संस्थामा रकम हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी)मा उजुरी परेको छ ।
ज्योतिसँग आफ्नो सम्बन्ध विच्छेद नक्कली भएको भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी )का रास्वपा सांसद गणेश पराजुलीलाई नक्कली प्रमाणित गर्न उनले चुनौती दिए । ‘ममाथि शंका लागे जस्तोसुकै छानबिनका लागि पनि तयार छु । संसदीय छानबिनका लागि पनि तयार छु, प्रमाण लुकाउन सक्ने जिम्मेवारी पदमा छैन,’ गुरुङले भने, ‘सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आउनैलाग्दा विषयबस्तुलाई अन्तै मोड्न रचिएको घटनाको छानबिन होस् ।’
गुरुङले आफू खुला किताबजस्तो रहेको दाबी गर्दै जुनसुकै कोणबाट छानबिन गर्न आग्रह गरे ।