
यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको स्मृतिमा प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
राष्ट्रकविको जन्मजयन्तीका अवसरमा आगामी असोज ७ गते शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।
यसअघि सो पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरिएको थियो ।
राष्ट्रकविको परिवारबाट मर्स्याङदी वाङ्मय प्रतिष्ठानमा स्थापित कोषबाट प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा प्रदान गर्नेगरी सो पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिए ।
वरिष्ठ गीतकार प्राडा कृष्णहरि बरालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यसवर्ष गीति क्षेत्रमा वरिष्ठ गीतकार खरेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।
विसं २०१४ देखि नै गीत लेखन र गायन क्षेत्रमा क्रियाशील ८८ वर्षीय खरेल हाल ‘डिस्टेनिया’ रोगबाट पीडित छन् ।