
रुपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
बुटवल-भैरहवा ६ लेन सडक खण्डअन्तर्गत तिलोत्तमा नगरपािलका–५ शङ्करपुर चोकमा शुक्रबार दिउँसो भएको दुर्घटनामा तिलोत्तमा–७ सेमरा बजार निवासी ६८ वर्षीय तेजबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५२ प ९५६० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ च १९८२ नम्बरको छोटा हात्ती गाडीले पछाडिबाट ठक्कर दिएर उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएका गुरुङ मोटरसाइकलको पछाडि सवार रहेको उनले बताए । गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा क्रिमसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक गुरुङको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
सोही दुर्घटनामा परी मोटरसाइकल चालक तिलोत्तमा–१० बस्ने ६४ वर्षीय लिलबहादुर तरामु मगर घाइते भएका छन् ।
उनको क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक पाल्पाको रिब्दिकोट गाउँपालिका–६ बस्ने ३२ वर्षीय यमबहादुर गाहालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।