३१ जेठ २०८३, आइतबार

एडिबीसँग अनुदान तथा सहुलियत ऋण सहायता प्राप्तिका लागि वार्ता गर्न टोली गठन

भदौ २८, २०८१
काठमाडौं
एडिबीसँग अनुदान तथा सहुलियत ऋण सहायता प्राप्तिका लागि वार्ता गर्न टोली गठन

सरकारले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन आयोजना कार्यान्वयनका लागि अनुदान तथा सहुलियत ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गरेको छ । यही भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) समेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि सो बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
 
 बैठकले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष ‘रेजिलिएन्ट हाइ भ्यालु एग्रिकल्चरल प्रोगाम’ का लागि प्राप्त हुने करिब नौ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 
 
   सरकारले आगामी असोज २७ देखि २९ गतेसम्म जर्मनीको बर्लिनमा हुने विश्व स्वास्थ्य सम्मेलन र असोज २९ देखि कात्तिक १ गतेसम्म इटालीको रोममा हुने ‘ह्याण्ड इन ह्याण्ड (एचआइएच) इनिसिएटिभ इन्भेष्टमेन्ट’ मा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  प्राडा शिवराज अधिकारीलाई स्वीकृति दिएको छ ।
 
 सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाललाई आगामी असोज ८ देखि ११ गतेसम्म चीनको बेइजिङमा हुने भ्रष्टाचारविरुद्ध कानुन कार्यान्वयन गर्ने संस्थाहरुको पाँचौँ बैठकमा सहभागी हुन स्वीकृति दिएको छ ।
 
 सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्ति गरेको उनले जानकारी दिए ।  मन्त्रिपरिषद्ले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलगायत आयोजनामा चालु आवका लागि दुई सय १० अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
 
  बैठकले नेपाल सरकारका नाममा दर्ता रहेको काठमाडौँ गोकर्णेश्वर नगरपालिका–३ को पाँच रोपनी १४ आना सरकारी जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिएको छ ।
 मन्त्रिपरिषद्ले हुलाकी राजमार्ग चितवन खण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बैठकले गल्छी त्रिशूली मैलुङ स्याफ्रूवेँसी रसुवागढी सडकको स्याफ्रुवेँसी बजार खण्डमा ११ मिटर चौडाईमा सडक निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्