२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

प्रधानन्यायाधीश सिफारिसमा अलमल, संसद् चल्न नदिने अडानमा माओवादी

भदौ २९, २०८१
काठमाडौं
प्रधानन्यायाधीश सिफारिसमा अलमल, संसद् चल्न नदिने अडानमा माओवादी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सर्वोच्च अदालतका प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक अनिर्णित बनेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अनिर्णित बनेको हो ।

अब भदौ ३१ गते फेरि बस्ने गरी बैठक सकिएको उपसभामुख इन्दिरा रानार्ले  जानकारी दिइन् । संवैधानिक निकायमा सिफारिस गर्न पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको उनको भनाइ छ । ‘अब ३१ गते बैठक बसेर टुंगो लगाउने सम्भावना प्रबल छ,’ उनले भनिन् ।
सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज १८ गतेदेखि ६५ वर्षे उमेरहदका कारण अवकाशमा जाने भएकोले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने लागिएको हो । 

न्यायपरिषद्को बैठकले वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत, सपना प्रधान मल्लसहित ८ न्यायाधीशको संवैधानिक परिषद्मा पठाइसकेको छ । एक महिनाअगाडि नै नियुक्तिका लागि नाम सिफारिस गर्नुपर्ने भए पनि ढिलो गरी परिषद्को बैठक बसिरहेको हो । शुक्रबारको बैठकमा राउतको विषयमा केही प्रश्न उठेको बताइएको छ । 
००००
लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् । 

शुक्रबार बोर्डको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सो क्रममा उनलाई बोर्डका पदाधिकारीहरुले स्वागत गरेका थिए । 

पदभार ग्रहण गर्दै ज्ञवालीले न्यानो स्वागतका लागि बोर्डका पदाधिकारीहरुलाई धन्यवाद दिँदै ठूला र रणनीतिक आयोजनालाई समयसीमाभित्र सफल बनाउन राजनीतिकदेखि संगठनात्मक तहसम्मको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिए ।
००००
नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त अभ्यास हुने भएको छ । भाद्र ३० गतेदेखि आश्विन ०४ गतेसम्म दुई देशका सेनाबीच संयुक्त अभ्यास ‘प्यासिफिक एन्जल’ सञ्चालन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जनाएको छ । 

अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुने छ ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा रोहित पुरुषतर्फ र एरिका महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्। रोहितले आफ्नै सहकर्मी दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, गल्फका सुवास तामाङ र करातेका मोहमद शेख आलमलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । 
००००
नेकपा एमालेले वार्षिक कार्ययोजना पारित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए । 

उनका अनुसार कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ । पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ ।  सबै तहको अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको उनले बताए ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले राष्ट्रियसभाअन्तर्गतको समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेकर्डबाट नहटेसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ ।
००००
जनमत पार्टीका अध्यक्ष डा सीके राउतले डिभोर्सका लागि ललितपुर जिल्ला अदालतमा दायर गरेको मुद्दामा श्रीमती सिन्धु रानीमाथि गम्भीर आरोप लगाएको पाइएको छ ।

श्रीमतीले पटक–पटक आत्महत्या प्रयास गरेको, आफैं डिभोर्स माग्ने गरेको, काठमाडौंमा घर गाडीलगायतका लागि टर्चर गरेको, छोराछोरीको ज्यान जोखिममा पारेको लगायत आरोप राउतले लगाएका छन् । भदौ १२ गते दायर मुद्दामा श्रीमतीलाई अंश दिएर सम्बन्धविच्छेद गराइदिन माग गरिएको छ ।
००००
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीमा स्थलगत अनुगमन गरेको छ ।

बिहीबार समितिका सभापति सूर्य थापासहितको टोलीले मितेरीसहित अन्य १३ सहकारीमा अनुगमन गरेको हो ।
मितेरी सहकारीको रकम हिनामिनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि मुछिएका छन् ।

समितिले मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग रकम हिनामिनाबारे छलफल गरेको थियो ।
००००
राइड शेयरिङ बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सी चालकहरू आन्दोलनमा उत्रिएका छन् ।
रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायतका माग गर्दै उनीहरू आन्दोलन उत्रिएका हुन् ।
००००
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ ।
दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको हो । 
००००​
नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्